भेरी यातायात समितिको एउटा गाडी दाङमा तोडफोड भएको छ। थप अर्काे गाडि राप्ती समितिले नियन्त्रणमा लिएका छन्।
बिहिबार बिहान तुलसीपुर नगरपालिका वडा नं.-१ लाहुरेचौर भन्ने स्थानमा सार्वजनिक भेरी यातायात समितिको भे १ प ६३३ नम्वरको गाडिमाथि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कर्मचारीले तोडफोड गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका इनिस्पेक्टर हेम शाहीले जानकारी दिए।
राप्ती समितिका कर्मचारीको कुटपिटबाट गाडी चालक नेपालगञ्ज नगरपालिका वडा नं.-१ धम्वोजी निवासी १९ वर्षे श्याम थापा घाइते भएका छन्। उनको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनको वाँया हात र शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ।
बाँकेवाट यात्रु बोकेर रुकुम तर्फ जान लागेको गाडी बिहीबार मध्यान्ह राप्ती समितिका कर्मचारीले ढुङ्गा र रड प्रहारगरी सबै सिसाहरु फुटाइदिएको ईप्रका तुलसीपुरका निमित्त कार्यालय प्रमुख समेत रहेका शाहीले बताए। यात्री गाडी भित्रै रहेको सयममा ढुङ्गा प्रहार गरी तोडफोड भएको थियो।
गाडि तोडफोड गरेको आरोपमा प्रहरीले राप्ती समितिका तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती समितिका सहसचिव दिवाकर केसी,कर्मचारीहरु तिलक योगी र पोषण न्यौपाने रहेको ईप्रका तुलसीपुरका निमित्त कार्यालय प्रमुख शाहीले जानकारी दिए।
यसअघि बुधबार पनि सल्यानको कपुरकोटबाट राप्ती समितिका कर्मचारीले भेरी समितिको एउटा गाडी नियन्त्रणमा लिएका थिए।
रुकुम प्रा. लि.ले तीन वटा नयाँ हायस गाडी रुकुम नेपालगञ्ज, रुकुम दाङ र रुकुम काठमाडौंसम्म सञ्चालन गरेपछि समितिहरुका बीचमा विवाद चुलिँदै गएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुममा केही दिन पहिले रुकुम प्रालि र सिस्ने हिमाल सार्वजनिक यातायात व्यवसायी समितका बीचमा नौं बुँदे समहमति भएको थियो। तर प्रहरी प्रशासनले जवरजस्ति आफूहरुलाई सहमति गर्न लगाएको भन्दै सिस्ने हिमाल र सल्यान रुकुम वसव्यवसायी समितिका पदाधिकारीले राप्ती सार्वजनिक समितको कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत उक्त सहमति स्विकार नभएको बताएका थिए।
राप्ती समिति, सल्यान रुकुम समिति र सिस्ने हिमाल समितिले शक्ति र राजनीतिक आडमा आफूहरु माथि अन्याय भएको भन्दै प्रहरी प्रशासनको व्यवहारको निन्दा समेत गरेका थिए। पत्रकार सम्मेलनका क्रममा तीन समिति मिलेर रुकुम देखि काठमाडौंमा जम्मा एक हजार रुँपैया भाडा निर्धारण गरी हायस संचालन गर्न लागेको जानकारी पनि दिइएको थियो। पछिल्लो समय गाडी संचालनकै विषयलाई लिएर समितिका विचमा कुटा कुट हुँदा दाङ र रुुकुमको यातायात तीन दिन ठप्प वन्न पुगेको थियो।
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका प्रकास भट्टले गाडी तोडफोड गर्ने कर्मचारी आफ्नो समितिका नभएको दावी गरेका छन्। तर रुट परमिट नभएका गाडिहरु रुकुम प्रालि र भेरी समितिले मनोमानी ढंगले संचालन गरेकोले तोडफोड भएको उनको कथन थियो।
प्रहरीले भने विहिवार विहान दाङमा तोडफोड गरिएको गाडिको रुट परमिट भएको बताएको छ। गाडी संचालनका विषयलाई लिएर उत्पन्न यो विवाद वढ्दै जाँदा यातायात सेवा असुरक्षित वन्दै गएको छ। सेतोपाटीमा समाचार छ ।