रोजगारीका लागि जापान गएका गुल्मी रूपाकोट- १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ ।
तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका गएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो ।
मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट- १ स्थित घरमै रहेको र पारिवारिक स्थिति कमजोर भएको भन्दै सहयोगका लागि जापानवासी नेपालीलाई गुल्मेली समाज जापान ले आग्रह गरेको छ ।
अध्यक्ष शालिकराम भण्डारीले शवको अन्त्यष्टि जापानवासी नेपालीको सहयोगमा ओता सहरकै हामाच्यो अस्पतालमा गरिने बताए ।
मनग्य कमाउने आशामा रु १५ लाख खर्चेर ओशाकास्थित एक नेपाली होटलमा गएका भण्डारीले सम्झौताअनुसार तलब नपाएपछि उचित कमाइको आशामा एक वर्षअघि गुन्मा प्रान्तको ओता सहरमा सञ्चालित नेपालीकै होटल पानसमा छिरेका थिए ।
होटल सञ्चालक रवीन कुँवरका अनुसार दैनिकजसो काममा आउने भण्डारी बिहीबार बिहान अबेरसम्म नआएपछि टाउको दुखेको बताएका थिए । अपराह्न १२ बजेसम्म पनि सुधार नभएपछि उपचारार्थ स्थानीय अस्पताल लगिएको थियो । अस्पतालले उपचारकै क्रममा दिउँसो मृत घोषणा गरे पनि कारण भने परीक्षण रिपोर्ट नआएकाले स्पष्ट हुन सकेको छैन ।
दुईसाताअघि मात्र जापानमा भएको सवारी दुर्घटनामा धादिङ जिल्ला कल्लेरी- २ का ३० वर्षीय मनोज खतिवडाको मृत्यु भएको थियो । दुईसाताको अन्तरमा रोजगारीका लागि जापान आएका दुई नेपालीको मृत्यु भएपछि जापानस्थित नेपालीहरू चिन्तित भएका छन् । (रासस)