भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीविरुद्ध संसारभर रहेका नेपालीले प्रदर्शन गर्ने क्रम जारी छ । यसैक्रममा आज अष्ट्रेलियाको संसद् भवनबाहिर त्यहाँ रहेका नेपालीले बिरोध प्रदर्शन गरेका छन् ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको संयोजनमा राजधानी क्यानबेरास्थित संसद भवनबाहिर सयौं नेपाली भेला भई प्रदर्शन गरेका हुन् । नाकाबन्दीको विरोधमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड र नेपाली झण्डा बोकेका प्रदर्शनकारीले नाराबाजी गर्दै भारतलाई नेपालमाथि अन्यायपूर्ण नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए ।
प्रदर्शनप्रति अष्ट्रेलियाली सांसदहरुले निकै चासो दिएको बताइन्छ । कतिपय सांसदले प्रदर्शनस्थलमै पुगेर जानकारी लिएका थिए ।
संसद भवनअगाडी नाराबाजी गरेपछि नेपालीले क्यानबेरामै रहेको भारतीय दूतावासअगाडी पनि प्रदर्शन गर्दै नाकाबन्दीविरुद्ध संकलित हस्ताक्षर दूतावासमा बुझाएका थिए ।
यसअघि अष्ट्रेलियाका ६ वटै शहरमा नाकाबन्दीबिरुद्ध प्रदर्शन गरिएको थियो । यसअघि यूरोपका विभिन्न मुलुकदेखि मध्यपूर्व हुँदै अमेरिकासम्मै यस्ताखाले प्रदर्शन भइसकेका छन् । इमेजखबरमा समाचार छ ।