अछाममा एक युवतीको रहस्यमय ढङ्गले मृत्यु भएको छ।
अछामको साँफेबगर नगरपालिका-१२ जमालगाउँकी २० वर्षीया छोरी कमला कुँवरको रहस्यमय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सोमबार राति बयलपाटास्थित इलाका प्रहरी कार्यालय नजिकै रिडीकोटमा सख्त घाइते अवस्थामा भेटिएकी कुँवरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक कुँवरको टाउको, घाँटी र अनुहारमा चोट लागेको र घटनाबारे विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले बताए। मृतकका परिवारले कुँवरको हत्या नै भएको दाबी गरेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा सोमबार दिउँसो मृतक कमलाले आफू भागेर विवाह गर्न लागेको स्थानीय एक युवतीलाई बताएको समेत देखिन्छ। मृतक कुँवरको आज शव परीक्षण गरिएको र बिहीबार दाहसंस्कार गर्ने परिवारजनको तयारी छ।
प्रहरीसमक्ष युवतीका परिवारले जाहेरी दिइसकेको छ। शव परीक्षणको प्रतिवेदन आउन बाँकी छ। रासस