यूएईमा तमुहरुले ल्होसार मनाउदै

उमाकान्त पाण्डे
यूएई   – संयुत्त अरब एमिरेट्स यूएईमा रहेका तमुहरुले ल्होसार मनाउने भएका छन । तमु ल्होसारको अवसरमा यहाँ रहेका तमु समाज र तमुप्येल्हु संघ युएईले संयुक्त रुपमा सास्कृतिक कार्यक्रम गरेर पर्व मनाउन लागेका हुन । प्र-ल्हो(बाँदर वर्ग)ल्होसारको रुपमा मनाउन लागेको सो कार्यक्रम जनवरी ८ शुक्रबार आबुधाबीको अलनादा(महिला)स्कुलमा हुनेछ । 


तमु समुदाय बिचको एकतालाई थप बलियो बनाउन विगतका वर्षहरुमा जस्तै यस् बर्ष समेत संम्युत्त रुपमा ल्होसार मनाउन लागेको र सो  कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन । आफ्नो समुदायको पहिचान बोकेको कार्यक्रम बारे पुर्व जानकारी स्वरुप सार्वजनिक गरिएकाले सोही दिन अन्य संघसस्थालाई कार्यक्रम नजुधाउन आयोजकले अनुरोध गरेका छन ।   
कार्यक्रममा एनआरएन आइसीसी अध्यक्ष शेष घले सहित राष्ट्रिय ख्याती प्राप्त तमु समुदायका चर्चित गायिका मौसमी गुरुङ , शर्मिला गुरुङ , तथा तमु चलचित्र जगतकी बनायिका, कोरियोग्राफर,कार्यक्रम प्रस्तोता एबम चलचित्र निर्देशक जस्सु गुरुङको समेत उपस्थिती हुने आयोजकले जनाएको छ । कार्यक्रममा सो समुदायका स्थानिय कलाकारको समेत प्रस्तुती रहने तमु समाज युएईकी अध्यक्ष उषा तमुस्योले बताउनु भयो । 
घलेलाई सम्मान गरिने  
गैरआवसिय संघका केन्द्रिय अध्यक्ष शेष घलेलाई आयोजक दुई सस्थाले संम्युत्त रुपमा सम्मान गर्ने भएका छन । एनआरएनमा दुई पटक गरेर सफल नेत्रित्व गर्दै आदिवासी जानजातीको पहिचान उचाइमा पुराउने काममा अग्रसर भएको भन्दै उहालाई सम्मान गर्न लागिएको हो । नेपालमा गएको भूकम्पपछि राहत वितरणमा सकृय भूमिका निभाएको भन्दै घलेलाई यूएईमा सम्मान गर्न लागेको तमुसमाजका वरिस्ठ सल्लाहकार राजु तमुले जानकारी दिनुभयो ।
प्रबासमा रहेर पनि तमुहरुको भेषभुषा, आफ्नो मौलिक धर्म संस्कार तथा संस्कृतिको जगेर्ना गर्न तल्लिन तमु समुदायले नेपाली पात्रो अनुसार पुष १५ लाई आफ्नो नयाँ वर्षको रुपमा मनाउदै आए पनि छुट्टीको दिन मिलाउदा झण्डै डेढ साता ढिला पुष २४ मा(८ जनवरीमा)गरिने भएको हो ।