‘महिलाको स्वास्थ्य अधिकार हामी सबैको सरोकार’ भन्ने नाराका साथ महिला पुनःस्थापना केन्द्र (ओरेक)को आयोजनामा आइतबार ललितपुरका भूकम्प प्रभावित १७५ महिलाको स्वास्थ्य परीक्षण गरिएको छ।
ललितपुरको विशङ्खुनारायण स्वास्थ्य चौकीमा भएको उक्त स्वास्थ्य शिविरमा आङ खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, यौन रोग, निरन्तर पिसाब चुहिने समस्याको जाँचका साथै स्वास्थ्य परामर्श तथा निःशुल्क उपचार र औषधि प्रदान गरिएको कार्यक्रम संयोजक सुजाता सिंहले जानकारी दिए।
ललितपुरका महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, लेले, ठैब, हरिसिद्धि तथा विशङ्खुनारायणका महिला तथा किशोरीलाई लैङ्गिक विभेदमा आधारित हिंसा र त्यसले महिलाको स्वास्थ्यमा पर्ने असर सम्बन्धमा जानकारी तथा अभिमुखीकरणसमेत गराइएको थियो।
उक्त शिविरमा शिक्षण अस्पताल महाराजगन्जबाट डा दीपा चुडाल, काठमाडौँ मोडल हस्पिटलबाट डा विशाल सुवेदी र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका डा स्मृति कार्कीले परीक्षण गरेका थिए।
सो अवसरमा स्थानीयस्तरमा पाइने जडीबुटी तथा त्यसको प्रयोगले हुने फाइदाका बारेमा समेत जानकारी दिइएको थियो। यसैगरी स्वास्थ्यसम्बन्धी विभिन्न सूचनामूलक पर्चा, पोस्टर तथा भिडियो प्रदर्शनी गरिएको थियो। रासस