वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । कपिलवस्तु   पकडी- ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो। 
 
उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन्। आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे आज पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन्। 
 
साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन्। 
 
मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ। मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ। शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन्। 
 
प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाएका छन्। 
 
मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वल्र्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । रासस