बागलुङको अर्गलमा जिप दुर्घटना हुँदा आठ यात्रु घाइते

बागलुङ जिल्लाको अर्गल गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । 
घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शिलेबाट अर्गल गाउँ जाँदै गरेको रा १ ज २५८ नंको जिप अर्गल-८ को पस्तकुल डाँडामा दुर्घटनामा परेको हो । 
जिप सडकदेखि करिब २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ताराका प्रहरी हवल्दार तेजबहादुर भुजेलले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा अर्गल-९ का ३७ वर्षीय हरि रोका, वडा नं-१ का ४० वर्षीय कर्णबहादुर रोका, वडा नं-२ का ५० वर्षीय बलबहादुर रोका, वडा नं-२ कै ३६ वर्षीय प्रेम घर्ती र चालक अर्गल-१ का ३१ वर्षीय निखिल केसीको अवस्था गम्भीर रहेको जनाइएको छ । 
जिप दुर्घटनामा अर्गलकै वडा नं-१ का ३२ वर्षीय बिरु रोका, वडा नं-२ का ३६ वर्षीय थमन घर्ती र वडा नं-१ का २२ वर्षीय मनु रोका सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उकालो चढ्ने क्रममा ब्रेक फेल भएपछि जिप अनियन्त्रित भई सडकबाट खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
घाइतेको अर्गल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दीपक खड्का र स्थानीय मेडिकल सञ्चालक टोप रोकाले घटनास्थलमै पुगेर सामान्य उपचार गर्नुभएको थियो । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको छ । रासस 

अन्य समाचारहरु