भक्तपुरको मध्यपुर थिमिमा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

भक्तपुर ।  भक्तपुरको मध्यपुर थिमिमा १५ दिने उद्घोषण तथा वाक कला सम्बन्धिको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण तथा विकासको क्षेत्रमा काम गर्दै आएको नेपालभाषा क्लबले तालिम कार्यक्रम आयोजना गरेको हो । 
क्षमता अभिवृद्धि तालिम पश्चात आयोजित समापन कार्यक्रममा अध्यक्ष कमला मानन्धरले नेपालभाषालाई संरक्षण तथा विकास गर्ने उद्देश्यले क्लब गठन गरिएको जनाउनुभयो । नेपालमा सुचिकृत एक सय २३ भाषाहरु मध्ये अधिकांश लोप हुने स्थितिमा रहेकाले भाषा संरक्षण गर्न समेत यस्ता क्लब आवश्यक रहेको बताउनुभयो । मातृभाषा संरक्षण अभियानका लागेका संस्थामा आबद्ध सदस्यहरुको बोल्ने शैलीलाई विकास गर्न तालिम कार्यक्रमको भूमिका विषयमा समेत उहाँले स्पष्ट गर्नुभयो । 
कार्यक्रममा सहभागी कलेज प्रमूख दुर्गामोहन श्रेष्ठले व्यक्तित्व विकास कार्यक्रमले अन्तर्निहित क्षमतालाई विकास गर्ने विषयमा बिचार राख्नुभयो । मातृभाषा संरक्षण अभियान आ-आफ्नै क्षेत्रबाट गर्नुपर्नेमा उहाँको जोड थियो । भाषा संरक्षण अभियन्ताले सम्बन्धित ठाउँमा सान्दर्भिक वकालत गर्न समेत उहाँले आव्हान गर्नुभयो । त्यस्तै, कार्यक्रम संयोजक सचिन बज्राचार्य तथा क्लबका संयोजक विजय बज्राचार्यले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । कार्यक्रममा पत्रकार हरिबहादुर श्रेष्ठ, रमिता बज्राचार्य लगायतकाले बोलेका थिए । 
सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षित गराउनु भएको तालिममा क्लबमा आवद्ध दुई दर्जन सदस्यहरुको सहभागिता थियो । नेपालभाषा क्लब मध्यपुर थिमि शाखाले केन्द्रको सहयोगमा शंखधर चोकस्थित जन आदर्श कलेजमा कार्यक्रम आयोजना गरेको हो । 

अन्य समाचारहरु