काठ्माण्डौं- एनआरएन अमेरिका न्यू जर्सी च्याप्टरद्वारा नेपालको नुवाकोट जिल्लाको नर्जामण्डपस्थित जनजागृत निमाबि र आहाल डाँडा प्राथमिक विधालयमा अध्यनरत २३६ जना भूकम्प पिडित विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । न्यू जर्सी च्याप्टरका कार्य समिति सदस्यहरुद्वारा संकलन गरिएको झण्डै डेढ लाख रुपैयाँको स्टेशनरी सामग्रीहरुको वितरण न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट मुकुन्द ओझा र महिला संयोजक शान्ता अधिकारी घिमिरेले ति दुई स्कूलहरुमा पुगेर गरेका थिए ।
श्री पन्चमी सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको उक्त स्टेशनरी बितरण समारोहमा जनजागृत निमाबिका प्रधानाध्यापक किरण उप्रेती, ब्यावस्थापन समीतिका अध्यक्ष किरण रिजल तथा आहाल डाँडा प्राथमिक विधालयका प्रधानाध्यापक टीकाराम न्यौपाने, ब्यावस्थापन समीतिका अध्यक्ष सेरमान तामाङले सम्बोधन गर्दै एनआरएन अमेरिका न्यू जर्सी च्याप्टरको सकृयतामा अमेरिकि नेपालीहरुले दुर्गम र भूकम्प पिडितलाई सम्झेर सहयोग पुर्याएकोमा खुशी ब्यक्त गर्दै धन्यबाद ब्यक्त गरे ।
न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट मुकुन्द ओझा र महिला संयोजक शान्ता अधिकारी घिमिरेले सम्बोधन गर्दै आफूहरुले न्यू जर्सीमा बसोबास गर्ने नेपालीहरुको मायाको चिनो लिएर आएको र मायाको चिनो रुपी सानो सहयोग प्रदान गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गरे ।
स्टेसनरी वितरण समारोहको चाँजोपाँजो संगीतकार रमेश खड्का, सुमन सिटाैला र अधिबक्ता वसन्त बस्नेतले गरेका थिए ।
जनजागृत निमाबिमा विद्यार्थीहरुको संख्या १९६ रहेकोछ भने छात्रा १०७ र छात्र ८९ छन् । उक्त विधालयमा ९ जान शिक्षक छन् । त्यसैगरी, आहाल डाँडा प्राथमिक विधालयमा विद्यार्थीहरुको संख्या ४० रहेकोछ भने छात्रा २५ र छात्र १५ छन् ।