गुल्मीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, चारजना घाइते

माटोको ढिस्कोले पुरिएर गुल्मीमा आज एकजनाको ज्यान गएको छ भने थप चारजना घाइते भएका छन् । 
 
माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा हुँगा गाविस-२ निवासी २६ वर्षीया चम्पा परियारको घटनास्थलमा नै ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए । ढिस्कोले पुरिँदा सोही ठाउँकी ४० वर्षीया सरस्वती रामजाली, ३५ वर्षीय नारायण भण्डारी, ४५ वर्षीय भक्तबहादुर रामजाली गम्भीर घाइते भएका हुन् । 
 
घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ । आज बिहान घर पोत्ने माटो लिन सुरुङभित्र पसेका उनीहरु अचानक ढिस्को खसेर पुरिएको बताइएको छ । ढिस्कोले पुरिएर ज्यान गुमाएकी एक छोरा र एक छोरीकी आमा चम्पा परियारको श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । 
 
त्यसैगरी, शनिबार दिउँसो घर पोत्ने माटो खन्ने क्रममा पौदी अमराईमा पनि एकजना घाइते भएका छन् । पौदी अमराई-९ निवासी वसन्त पाठककी श्रीमती २१ वर्षीय पुष्पा पाठक घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस 

अन्य समाचारहरु