चालु आर्थिक वर्ष २०७२/७३ को माघ महिनासम्म नेपालको कुल वैदेशिक व्यापारमा ह्रास आएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार यस वर्षको प्रथम सात महिनाको अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशत बराबरले ह्रास आर्ई ३७८ अर्व बराबरमात्र रहन गएको छ ।
कुल व्यापारमा निकासीको योगदान ९ दशमलब ६ प्रतिशत तथा पैठारीको योगदान क्रमशः ९० दशमलब ४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २८ प्रतिशत बढीले ह्रास आई ३६ अर्ब ३३ करोड तथा कुल पैठारीमा २४ प्रतिशत बराबरले ह्रास आई रु. ३४१ अर्ब ६० करोडमा सीमित हुन पुगेको छ ।
आव २०७१-७२ को प्रथम सात महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः८.८ भएकोमा आ.व. २०७२-७३ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः९.४ रहन आएको छ । भारतीय नाकाबन्दी लगायतका समस्याका कारणले गर्दा हालसम्म पनि मुलुकको वैदेशिक व्यापारमा असर पारिरहेको देखिन्छ ।
परिणामतः चालु आर्थिक बर्षको माघ महिनासम्ममा अघिल्लो वर्षको यसै अवधिको तुलनामा नेपालको कुल व्यापारघाटा २३.६ प्रतिशतले ह्रास आई ३०५ अर्ब २७ करोडमा सीमित हुन गएको केन्द्रले जनाएको छ । इमेजखबरमा समाचार छ ।