आफ्नै श्रीमती हत्या गरेको अभियोगमा नेपाली युवक तिहाड जेलमा

बाबु रोका मगर 
दिल्ली । दिल्ली स्थित रोहिणी सेक्टर ९ मा नोकरी गरि बस्दै आएका आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक नेपाली युवालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ | मामला पहिले आत्मा हत्या भनिएको थियो भने छानबिन पछि हत्या भएको साबित भएपछी अभियुक्त अमितलाई दिल्ली प्रहरीले पक्राउ गरि तिहाड जेल चलान गरेको छ । 
१७ बर्षीय श्रीमति अन्जु पुनको हत्या आरोपमा २४ बर्षीय अमित कुमार विकलाई प्रहरीले मार्च ३१ गते पक्राउ गरि हत्याको अभियोगमा तिहाड जेल पठाएको हो । अन्जु १४ बर्षको हुदा नै अन्जु आफु राजीखुशी बिहे गरेतापनि युवकले अन्जु संग बाल बिवाह गरेको आरोप पनि छ  | 
अन्जु सिसाखानी-४ बाग्लुङकी हुन् । अमित डिम्बुङदह-२ गुम्लीका हुन । उनीहरुवीच तीन बर्ष पहिला प्रेम विवाह भएको थियो । तर, उनीहरुवीच बेला बेलामा झगडा हुने गरेको बताइएको छ । अमित अन्य महिलासँग उठबस गर्ने गरेको आरोप अन्जुले लगाउने गरेकी थिइन् । अमितले हत्या गरेपछि अन्जुलाई पंखामा झुन्डाएको आरोप लागेको छ । 
दिल्लीस्थित विभिन्न प्रवासी संगठनको पहल तथा मृतक अन्जुका बुवाको बयानका आधारमा प्रहरीले अमितलाई हत्या अभियोगमा जेल पठाएको हो । घटना विवरण अनुसार मार्च २७ मा अमितले चक्कु र छडले प्रहार गरेर अन्जुको हत्या गरेको अभियोग लागेको छ ।
प्रहरीले तत्काल अमितलाई प्रक्राउ गरेको थियो । त्यसपछि एमाओवादी निकट अखिल भारत नेपाली एकता मंच र नेपाली दूतावासको सहयोगमा अन्जुका बुवा चन्द्रबहादुर पुनलाई दिल्ली बोलाइएको थियो । अन्जुका बुुवाले बयान दिएपछि अमितलाई प्रहरीले थप अनुसन्धानका लागि जेल पठाएको थियो । अन्जुको उमेर १७ बर्ष मात्र भएको थियो । बाबा अम्बेकर अस्पतालमा अन्जुको पोस्टमार्टम गरिएको थियो पोस्र्टमार्टम रिपोर्ट अनुसार उनको पेटमा डेढ महिनाको बच्चा भएको देखाइएको प्रहरीले प्रवासी नेपाली संघसंस्थाहरुलाई जानकारी दिएको छ । अमितले अन्जुका बुवासँग मोटरसाईल लगायतका दाइजो पनि मागेका कुरा अन्जुका बाबाआमाले बताए । अन्जुको १५ महिनाको बच्चा भने उनको बाबा चन्द्रबहादुरको जिम्मा लगाइएको छ ।
प्रवासी नेपाली संघ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायतले पनि यो प्रकरणमा प्रहरी र पीडितलाई सहयोग गरेका छन् । 
अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य आरवी खड्काले पीडितले न्याय नपाएसम्म आफुहरु लडिरहने बताए । अनुसन्धानमा सहयोग पुर्राएकोमा दिल्ली प्रहरीले नेपाली संघ-संस्थालाई समेत धन्यवाद दिएको छ ।
तस्बिरमा हत्या आरोपी अमित बिक