मादक पदार्थ सेवनपछि भएको सामान्य विवादमा एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
सर्लाहीको बाग्मती गाविस घर भई हाल काठमाडौँ जम्बोडाँडा बस्दै आएका १८ वर्षीय साजी तामाङ र मकवानपुर मजुरढाप गाविसका २१ वर्षीय विक्रम वाइबालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
गत चैत ७ गते बूढानीलकण्ठको एक होटलमा मादक पदार्थ सेवनपछि सामान्य विवादमा तामाङ र वाइबाले सुनसरी सत्तेझोरा घर भई हाल बूढानीलकण्ठ बस्ने विनोद उरावको हत्या गरेको प्रहरीले जनाएको छ।
चैत ८ गते बूढानीलकण्ठको विष्णुमती खोला छेउमा रहेको गहुँ बारीमा ढुङ्गाले टाउकामा प्रहार गरी वीभत्स ढङ्गले हत्या गरेको अवस्थामा उरावको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
होटलबाट बाहिर निस्केपछि विवाद हुँदा वाइबा र तामाङले मृतक उरावलाई ढुङ्गाले टाउकामा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
ढुङ्गा प्रहार गरेपछि उराव भुइँमा लडेकामा पहिचान खुल्ने र पक्राउ पर्ने डरले उनीहरुले ढुङ्गाले अनुहारमा पटक पटक प्रहार गरेको र मृतकको साथमा रहेको मोबाइल सेट लुटेर भागेको प्रहरीले जनाएको छ।
मृतक र अभियुक्त दुईजना सामान्य मजदुरी गरेर खाने व्यक्ति भएको तथा घटना हुनुअघि उनीहरुबीच सामान्य चिनजानसमेत थिएन।
घटना भएको दिन उनीहरुले दिनभरको मजदुरीपछि राति होटलमा आई मादक पदार्थ सेवन गरेका थिए।
महाशाखाको प्रहरी टोलीले अभियुक्तहरुलाई चैत २४ गते पक्राउ गरी आज कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको छ। रासस