कुुखुरालाई खुवाउन पानी नल्याएको झोंकमा कामदारको हत्या गर्ने महोत्तरीको हात्तीलेटका २७ वर्षीय फाल्गुण भनिने पवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
हात्तीलेट-२ विजय बस्तीका २६ वर्षीय बिजुली सदाको हत्या गरेको आरोपमा बस्नेतलाई शनिबार सम्सी नाकाबाट प्रहरीले पक्राउ गरेको हो।
मङ्गलबार साँझ बस्नेतले निर्घात कुटपिट गरेकामा शनिबार बिहान सदाको मृत्युपश्चात् भागेर भारत गइरहेको बेलामा सम्सी नाकाबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
आफैँले सञ्चालन गरेको कुखुरा फर्ममा काम गर्ने सदालाई मदिरा सेवन गरी आएका पवनले निर्घात कुटपिट गरेको स्थानीय जानुका परियारले बताए।
निर्घात कुटाइबाट अनुहार, छाती र कोखमा चोट लागेको सदा चार दिनदेखि ओछ्यानमै थला परेको परियारले बताइन्।
पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। रासस