नेपालमा कृषि: चुनौती र सम्भावना

नरेन्द्र पोखरेल 
आज पनि करीब १५०० युवाले नेपाल छोड्दै छन। करीब ३ वटा लास बोकेका बाकस आज पनि त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा आउने छन। चमत्कारीक परिवर्तन नभए आज पनि पासपोर्ट बनाउने युवाहरुको लाम कयौं किलोमिटर सम्म पुगि सक्नेछ। चिया पसलमा एउटा चुरोट र चियासँगै चिया गफ सुरु भईसके नेपालमा केही हुँदैन, नेपालमा नेता नै खराब छन, र कोही कोहीले जनतालाई नै दोस दिदै यो पनि भनिसके होलान कि नेपाली जनता नै भेंडा छन। यी केही प्रतिनिधि घटना मात्र हुन। 
आखिर किन भैरहेको छ यो सब? युवा पंक्तीमा देखिएको अती निराशावादी प्रब्रितिको लागि वास्तविक जिम्मेवार को हो? अधिकांसले आरोप लगाए जस्तै अस्थिर सरकार वा गैर जिम्मेवार राजनीतिक नेत्रित्व मात्र हो या जनता पनि हुन यसको भागीदार? यी सामान्य प्रश्न को उत्तर पक्कै पनि सजिलो छैन। 
यही गतिमा युवाहरु बिदेशिने हो भने आजको ३० बर्ष पछी नेपालमा हिंडडुल गर्न सक्ने मान्छे रहलान त? यि यावत प्रश्नहरुले आज देशको लागि केही गर्छु भनेर लागिपर्नेलाई दैनिक रुपमा थिचिरहेको छ। 
दैनिक रुपमा बिदेशिने सयौं युवाहरुमा अधिकांस रोजगारिको सिलसिलामा अती निम्न स्तरको कस्टप्रद काम गर्नको लागि खाडी मुलुकमा जाने गरेका छन भने, केही सयको सँख्यामा युरोप अमेरिका लगायतका महादेशमा उच्च शिक्षाको लागि जाने गरेका छन। यसले के देखाउछ भने प्रयाप्त रोजगारिको श्रीजना देशभित्र हुन नसक्नु नै आजको प्रमुख कारण हो जसले सयौंको संख्यामा उर्जावान नेपाली युवाहरुलाई देश बाहिर धकेलीरहेको छ। 
समाधान के छ?  
हामी सबैले भन्दै सुन्दै आएको एउटा वास्तविकता के हो भने नेपाललाई छोटो समयमा नै सम्ब्रिद्ध र अती कम बिकशित मुलुकको बिकासशिल मुलुकको सुचिमा पुर्याउने हो भने कृषि र पर्यटन बिकासको बिकल्प छैन। पर्यटन नेपालको लागि यस्तो क्षेत्र हो हामी जसबाट करिब करिब बिना लगानी नै करोँडौ डलर बिदेशी पुँजी नेपालमा भित्र्याउन सक्छौ र हजारौको सङ्ख्यामा रोजगारिका अबसरहरु श्रीजना गर्न सक्छौ। तर यस लेखमा पर्यटन भन्दा कृषिको बारेमा चिरफार गर्ने छ। 
नेपालको हकमा कृषि क्षेत्र पर्यटन पछी सबैभन्दा बढी सम्भाबना बोकेको क्षेत्र हो। करीब करीब ७०% नेपाली जनताको जीवनयापनको मुख्य आधार भनेको कृषि पेसा हो। तर जुन रफ्तार र तरिकाबाट कृषि क्षेत्रको बिकास हुनुपर्ने हो त्यसमा हामी निरन्तर चुकिरहेका छौ।  
 
अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान भए पनी कृषि क्षेत्र बिभिन्न समस्याले ग्रस्त छ। नेपालको कृषि परम्पराबादी र निर्वहामुखी रहदै आएको छ । अझ भन्नु पर्दा नेपालको कृषि क्षेत्र थोरै जग्गा भएका निर्वहामुखी किसानहरुको भरमा चलिरहेको छ। कृषिको ब्यबसायीकरण गर्नको लागि जती लगानी हुनुपर्ने हो, त्यो भैरहेको छैन र युवाहरुलाई यो पेसामा आकर्षित गर्न नसक्नु यस् क्षेत्रको पर्याप्त बिकास हुन नसक्नुको अर्को प्रमुख कारण हो। युवाहरु कृषि पेसामा आकर्षित नहुनुको एउटा प्रमुख कारण समाजमा कृषि पेसा अंगाल्ने ब्यक्तिलाई गरिने दोश्रो दर्जाको व्यबहार पनि हो। उदाहरणको लागि कृषि सँग सम्बन्धित कामलाई स्कुलमा अनुशासन हिन विद्यार्थीलाई सजाय दिनको लागि समेत प्रयोग गरिन्छ। 
दोश्रो हाम्रो शिक्षा प्रणालिले टाई सुट वाला कामलाई दिएको अती महत्वले पनि कृषि लगायतका अन्य क्षेत्रहरु छायाँमा पर्ने गरेका छन। आर्थिक सामाजिक रुपमा समाजमा खासै योगदान पुर्याउन नसक्ने पेसाहरु समाजमा सम्माननीय भैईदिदा कृषि लगायतमा अती सम्भावना बोकेका क्षेत्रहरु ओझेलमा पर्दै आईरहेका छन, नतिजा ठुलो सङ्ख्यामा युवाहरु यस्तै जागिरको खोजिमा भौतारिरहेका छन जुन अस्तित्वमा नै नरहन पनि सक्छन। 
कृषि क्षेत्र बिकास नहुनु एउटा पाटो हो तर नेपालमा यस् क्षेत्र बिकासका निकै ठुला ठुला सम्भावनाहरु रहेका छन। सम्ब्रिदीका किरणहरु केही मात्रामा पशु पंक्षिका गोठ र गोलभेंडा काउलीका करेसाबाट देखिन थालेका छन। कैयौं युवाहरु कृषि क्षेत्रमा कायापलट गर्न सकिन्छ है भन्ने विश्वासका साथ सुझबुझ र नयाँ प्रबिधी सँगै यस पेसामा सुन फलाउन सकिन्छ है भन्ने विश्वासका लागि परीरहेका छन। परम्परागत रुपमा गरिदै आएको कृषि पेसा लाई नियमित आय आर्जनको माध्यम बनाई रहेका छन। यो सबै करिब करिब किसानको एक्लो प्रयासबाट भैरहेको छ।
 
दुई निकै ठुला र उदयमान अर्थतन्त्र बिच अझ भनौ निकै ठुलो मात्रामा अनुदान प्राप्त गर्ने भारतीय र चिनियाँ उत्पादन बिच प्रतिस्प्रधा गर्न किसानको एक्लो बलले धेरै समय थेग्न नसक्न पनि सक्छ। त्यसैले कृषि पेसामा लाग्ने कृषि उद्यमिलाई सुरक्षित लगानिको बातावरण र युवाहरुलाई कृषि उद्यममा लाग्न सरकारी तहबाट नै पहलकदमी लिनु निकै जरुरी छ। 
किसानहरुले सरकारबाट पाउने सेवा सुबिधालाई असहज र झन्झटिलो प्रकृयाबाट तुरुन्त सहज बनाउनु पनि आजको प्रमुख आबश्यक्ता हो। 
र सरकारी छात्रब्रितिमा पढेका कृषि स्नातहक/प्राबिधिकलाई छुट्टै मापदण्ड बनाई सरकारले तोकेको न्यूनतम समय अबधिको लागि अनिवार्य सेवामा लगाउन सक्ने हो भने कृषि क्षेत्रको कायापलट गर्न समय नलाग्ने कुरा जगजाहेर नै छ।  
 
    लेखक कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, लम्जुङ क्याम्पसमा अध्ययनरत छन ।