घुसको अखडा बन्दै मालपोत कार्यालय बुटवल, खुलेयाम घुसको कारोवार

कृष्ण खनाल
बुटवल, ९ बैशाख । मंगलबार बुटवलको मालपोत कार्यालयमा रोचक दृश्य देख्न पाईयो । जुन दृष्य मालपोत कार्यालयमा पहिलो पटक जाने जो कोहीलाई अनौठो लाग्न सक्छ तर मालपोतमा नियमित कामको लागि जानेहरुको लागि भने यो नयाँ कुरा होईन । मालदार अड्डाको रुपमा पहिचान बोकेको मालपोत कार्यालयलाई घुस लिनदेनको अखडा केन्द्र भन्दा फरक नपर्ने देखिन्छ । मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरु भन्दा पनि विचौलियाहरुले नै कर्मचारीहरुलाई घुस दिन प्रोत्साहन गर्ने गरेको देखिन्छ । काम  छिटो गरिदिने निउँमा बिचौलियाहरुले सेवाग्राहीबाट अतिरिक्त रकम लिई दिएको देखिन्छ । 
मंगलबार दिउँसो करिव १ बजे बुटवल-१० शुख्खानगरमा रहेको मालपोत कार्यालयमा जाँदा सेबा ग्राहीहरुलाई भन्दा बढि विचौलियाहरुलाई हतारो थियो । लेखापढी व्यवसायीहरुको नाममा भजाएका र बित्तिय संस्थाहरुबाट कागजात मिलाउन पुगेका विचौलियाहरु आफैले नै सेवाग्राहीलाई घुस दिन आग्रह गरिरहेका दृष्टि कोठा कोठामा देखिथ्यो । एक जना महिला विचौलिया जो आफै मालपोत कार्यालयको दर्ता चलानी फाँटमा गईन्, आफै  कार्यालयको छाप फटाफट् लगाईन् आफै जग्गा धनी पुर्जा हातमा लिईन् । र नजिकै आएका सेवा ग्राहीलाई भनिन्- लौ है अव ३-४ हजार खुजुरा (चानचुन) पैसा हातमा राख्नुस् । छिटो काम हुने भा लौ हिड्नु म संगै । उनले यति भनेपछि उनको पछि पछि सेवाग्राही पनि लागे । 
विचौलिया ति महिलाले विभिन्न कोठा कोठामा पस्दै लौ है सर मेरो काम भन्दै गईन्, सेवा ग्राहीबाट लौ यहाँ,  अलिकती भन्दै न्युनतम १ सय रुपैयाँ देखि ५ सय रुपैयाँसम्म लिदै कर्मचारीहरुलाई दिदै गईन् । दर्ता फाँटमा गएपछि ति सेवाग्राहीले विचौलिया महिलासंग सोधिन्य- यहाँ पनि दिनु पर्छ ? सेवाग्राहीलाई संकेत मार्फत चुप लाग्न आग्रह गर्दैै उनल त्यहाँ पनि नगद १ सय ५० रुपैयाँ मागेर दिईन् । ति विचौलियाले लौ न सर यत्ती भन्दै घुस दिईन् ।  कर्मचारीले लाजै नमानि त्यो रकम  लिए । कोठा नम्बर ४ मा घुस लिदै गर्दा खिचेको तस्वीर र भिडियो संवाददाता सँग सुरक्षित छ ।
यो घुस दिएको घटना एउटा नमुना मात्र हो । मालपोत कार्यालयमा कर्मचारीहरु घुस विना काम नै गर्दैनन् भन्ने कुरालाई मंगलबारको  यो प्रतिनिधी घटनाले पुष्टी गरेको छ ।  प्रत्येक कर्मचारीहरुले घुस विना नै काम नै गर्दन्न् । एक जना सेवा ग्राही आफै विचौलिया बीना गएका थिए । उनी भन्दै थिए- लौ न सर भन्दै जानेहरुको काम छिटो हुन्छ, तर हामी जस्ता विचौलिया विना नजानेहरुको काम नै हुदैनन् ।