देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (झोला ओसार्ने) बेल्ट थपिएका छन् ।
लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्टका कारण झोला ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवी बिग्रेको थियो । बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् ।
यसअघि विदेशबाट नेपाल आइपुगेपछि झोला लिन चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो झोला बढीमा ४५ मिनेटभित्र पाउने विमानस्थलले जनाएको छ ।
नयाँ बेल्टको शुक्रबार बेलुका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताउनुभयो । रासस