काठमाडौँ,
रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ
इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले
पक्राउ गरेको छ ।
काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी २३ जना अर्काको नाममा परीक्षा
दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक
डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले
बताए ।
यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन
दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।
आज ३० हजार २०२ परीक्षार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी
भएको उनले जानकारी दिए ।
बाँकी परीक्षार्थीको आइतबार बिहान ८:३० बजे र अपराह्न १२:३० बजेदेखि परीक्षा
सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७०
मिनेटको हुनेछ ।
यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक
क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ
उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।
आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि
कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।
रासस



