सरकारले अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमलामा मारिएका १२ जना
नेपालीको शव ल्याउन चार्टन विमान पठाउने भएको छ । सोमबार बिहान सुरक्षा कामदार
चढेको बसमा आतंकवादीले बम विष्फोट गराएका थिए । उक्त घटनामा १२ नेपाली र नेपाली
मुलका २ जना भारतीय नागरिकको मृत्यु भएको थियो । ७ जना घाइते भएका छन् ।
परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा घाइतेको उचित
उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल
ल्याउन पहल भइरहेको जनाएको छ ।
जतिसक्दो छिटो शवहरुलाई नेपाल ल्याएर आफन्तजनको
जिम्मा लगाउने कोशिसमा छौं, परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भने आवश्यक
प्रक्रिया पूरा गरेर छिटो भन्दा छिटो नेपाल एयरलाईन्सको चार्टर विमान काबुल पठाउने
तयारीमा छौं । उनले नेपाल फर्किन चाहने अन्य नेपालीलाई पनि
उक्त विमानमा ल्याइने बताए ।
परराष्ट्र मन्त्रालयले गृह,
पर्यटन, रक्षा सहितका मन्त्रालयसँग आवश्यक समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए
। सरकारकै पहलमा गम्भीर घाइते कृष्ण देउजा र मनबहादुर थापालाई थप उपचारका लागि
दिल्लीको एपोलो अस्पताल ल्याइएको उनले जानकारी दिए । अन्य ३ जनालाई पनि भोलिसम्म
दिल्ली ल्याइने उनले बताए ।
काबुलको अस्पतालभन्दा दिल्लीमा राम्रो उपचार भएकाले अफगानिस्तान सरकार मार्फत
सम्बन्धित कम्पनीलाई दवाब बनाएर सरकारले घाइतेहरुलाई दिल्ली ल्याउने पहल गरेको हो
।
काठमाडौंमा
शव ल्याएपछि परिवारले चाहेको स्थानमा पुर्याउने व्यवस्था समेत गरिने पौड्यालले
जानकारी दिए । कान्तिपुरमा
समाचार छ ।



