नेपालमा उबरको औपचारिक भव्य प्रवेशः काठमाडौंबाट सेवा सुरु, यातायात र पर्यटन क्षेत्रमा नयाँ युगको अपेक्षा
जेष्ठ २३ गते, २०८३ मा प्रकाशित
काठमाडौं — विश्वकै चर्चित राइड–सेयरिङ कम्पनी उबर (Uber) ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कम्पनीले चारपांग्रे तथा दुईपांग्रे दुवै श्रेणीका सेवा सार्वजनिक गर्दै नेपालमा आफ्नो आधिकारिक उपस्थितिको घोषणा गरेको हो।
उबरको नेपाल प्रवेशसँगै नेपाल एसिया–प्यासिफिक क्षेत्रको ११औँ बजार बनेको छ भने पछिल्लो एक दशकमा दक्षिण एसियामा उबरले सेवा विस्तार गरेको पहिलो नयाँ देश पनि बनेको छ। कम्पनीका अनुसार काठमाडौंबाट सेवा सुरु गरिएको छ र आगामी दिनमा सेवाको दायरा विस्तार गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको छ।
उबरले प्रारम्भिक चरणमा चारपांग्रे सवारीतर्फ उबर गो (Uber Go) र उबर कम्फर्ट (Uber Comfort) तथा दुईपांग्रे सवारीतर्फ उबर बाइक (Uber Bike) सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यी सेवामार्फत यात्रुहरूले मोबाइल एप प्रयोग गरेर सहज, सुरक्षित र पारदर्शी रूपमा सवारी बुक गर्न सक्नेछन्।
कम्पनीका अनुसार नेपालमा सेवा सुरु भएसँगै अब काठमाडौं आउने अन्तर्राष्ट्रिय पर्यटकहरूले विश्वका अन्य देशमा प्रयोग गर्दै आएको उबर एपमार्फत नेपालमै पनि सहज रूपमा यात्रा गर्न सक्नेछन्। यसले विदेशी पर्यटकलाई नयाँ सहरमा यातायातको विकल्प खोज्नुपर्ने झन्झट कम गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले उबरको आगमनले नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, “पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधार हो। उबर जस्तो विश्वसनीय अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रवेशले नेपाललाई विश्व पर्यटन बजारमा अझ आकर्षक बनाउनेछ। यसले पर्यटक तथा स्थानीय नागरिक दुवैलाई सुरक्षित र सहज यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरेका छौं।”
त्यस्तै, उबरका एसिया प्यासिफिक राइड्सका रिजनल जनरल म्यानेजर डमिनिक टेलरले नेपालको बढ्दो डिजिटल अर्थतन्त्र र युवा जनशक्तिको सम्भावनाबाट आफूहरू उत्साहित रहेको बताए। उनका अनुसार नेपाल उबरका लागि महत्वपूर्ण बजार हो र कम्पनीले यहाँको यातायात व्यवस्थालाई थप आधुनिक, सुरक्षित र पहुँचयोग्य बनाउन योगदान पुर्याउने लक्ष्य राखेको छ।
उबरले आफ्नो एपमार्फत यात्रु र चालक दुवैका लागि विभिन्न सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ। यात्राको विवरण ट्र्याक गर्न सकिने, आपत्कालीन सहायता प्राप्त गर्न सकिने तथा डिजिटल भुक्तानीको सुविधा प्रयोग गर्न सकिने भएकाले सेवा थप सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ।
सन् २०१० मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देश र हजारौँ सहरमा सञ्चालनमा छ। कम्पनीले हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी यात्रा (राइड) सम्पन्न गरिसकेको जनाएको छ। नेपालमा उबरको आगमनलाई डिजिटल यातायात सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उबरको प्रवेशसँगै नेपालको राइड–सेयरिङ बजारमा प्रतिस्पर्धा बढ्ने, सेवाको गुणस्तरमा सुधार आउने तथा यात्रुहरूले थप विकल्प पाउने अपेक्षा गरिएको छ। साथै, हजारौँ चालक तथा सवारीधनीका लागि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुने विश्वास समेत गरिएको छ।