प्रेस स्वतन्त्रता सेनानी पन्डित वाबुराम भट्टराईको पत्रकार महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

 कृष्ण खनाल 
बुटवल, १९ असार । प्रेस स्वतन्त्र सेनानी पन्डित वाबुराम भट्टराईको चितवनको देवघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि पत्रकार महासंघ रुपन्देही र चितवन शाखाले शोक सभा गर्दै पत्रकार महासंघको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष वालकृष्ण चापागाई, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकार महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।
श्रद्धाञ्जली सभामा बोल्दै पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष चापागाईंले बाबुराम भट्टराईले पत्रकारितामा पु-याएको योगदानलाई भुल्न नसकिने बताउनुभयो । लेखन र साहित्यमा विलक्षण क्षमता भएका भट्टराईको निधनले ठूलो क्षति भएको बताउनुभयो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवालीले पत्रकारिताका महान व्यक्तिको निधनले सम्पूर्ण पत्रकारहरुमा अविभावकको कमी हुने बताउनुभयो । पंण्डित भट्टराईले सधैभरी स्मरण गर्ने गरी पत्रकार महासंघले निर्णय लिने बताउनुभयो ।
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले पत्रकारितासंगै अनुवाद साहित्यमा प्रखर व्यक्तिको निधनले पत्रकारितामा क्षति भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य लक्ष्मण पोखरेलको सञ्चालनमा भएको शोक सभामा भट्टराईका पारिवारिक सदस्य मोहन मरासिनीले भट्टराईको जीवनीमाथि प्रकाश पार्नुभयो ।
रुपन्देहीमा रहेर झण्डै साढे दुई दशक पत्रकारितामा विताउनुभएको भट्टराईको आइतबार बिहान १ बजे आफ्नै निवास तामनगरमा निधन भएको थियो । ब्लडप्रेसर लो भएका भट्टराई राति अचेत भएपछि लुम्बिनी अञ्चल अस्पताल ल्याउदै गर्दा निधन भएको थियो ।

अन्य समाचारहरु