संसदको सुशासन तथा अनुगमन समितिको बैठक सुरू, अख्तियारका पदाधिकारीलाई बोलाउन माग

संसदको सुशासन
तथा अनुगमन समितिको बैठक सुरू भएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ
चिकित्सक गोविन्द केसीले राखेका माग र त्यसमा जोडिएको अख्तियार दुरुपयोग अनुसन्धान
आयोगको विषयलाई लिएर समितिको बैठक बसेको हो।
 

 

बैठकमा काठमाडौं
विश्वविद्यालयका तीन जना पदाधिकारी डाकिएको छ। तर सांसदहरूले विश्वविद्यालयका
पदाधिकारीमात्र नभएर परीक्षा हस्तक्षेपमा संलग्न अख्तियारका पदाधिकारीलाई समेतलाई
बोलाउन माग गरेका छन्।
 

 

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विश्वविद्यालयका पदाधिकारीलाई मात्र
बोलाएर छलफल टुंगोमा नपुग्ने भन्दै अख्तियारका पदाधिकारीलाई पनि बोलाउन माग गरेका
हुन्। अहिले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको कुरा आएको छ
, नियम मिचेर
अख्तियारले काम गर्यो भन्ने छ
, सांसद मोदीले भने, त्यसकारण यो
छलफलमा अख्तियारलाई पनि डाक्नुपर्छ।
 

मोदीले छानविन
समिति तुरुन्त गठन गर्न माग पनि गरे। अख्तियार प्रमुख लोकमानसिंह कार्की र त्यसका
पदाधिकारी पनि जोडिएको विषय छ
, उनीहरूलाई पनि छलफलमा डाकियोस्, छानविन गर्न
समिति गठन गरियोस् भन्ने मेरो माग हो
, आफ्नो धारणा राखेपछि सेतोपाटीसँग कुरा गर्दै
मोदीले भने।  

 

मोदी सँगसँगै
कांग्रेसका ध्रुव वाग्ले
, सद्भावना पार्टीका नरसिंह चौधरी, तराई मधेस
लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद साहले पनि छानविन समिति गठन गर्न माग गरेका
छन्।
 

 

समितिका सचिव
जीवराम बुढाथोकीका अनुसार बैठकमा अधिकांश सांसद उपस्थित छन्। सांसदहरूले धारणा
राख्ने क्रम जारी छ। अख्तियार पदाधिकारीलाई बोलाउने र छानविन समिति गठन गर्ने
विषयलाई लिएर बैठक केही लम्बिनसक्ने जनाउ सांसदले दिएका छन्।
 

 

सांसद गगन थापा, धनराज गुरुङ र
श्याम श्रेष्ठले सुशासन समितिमा छलफलका लागि बिहीबार प्रस्ताव दर्ता गराएका थिए।
त्यसलगत्तै सुशासन समितिले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई शुक्रबार छलफलमा
बोलाएको थियो। केयुका रजिष्ट्रार
, डिन र कानुनी सल्लाहकार छलफलमा छन्।

 

अख्तियार प्रमुख कार्की र पदाधिकारी पनि जोडिएको विषयमा समितिले केयु
पदाधिकारीलाई मात्र किन बोलायो भनी अालोचना भइरहेको थियो।
 

हस्तक्षेप गर्ने
निकाय अख्तियारले मेडिकल काउन्सिललाई दोष थोपरेको थियो। काठमाडौं विश्वविद्यालयको
गत जेठ १५ गते हुने प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको थियो। त्यससँगै
चिकित्सा क्षेत्रमा अख्तियारले चौतर्फी रुपमा हस्तक्षेप गर्ने गरेको आरोप अनसन्रत
वरिष्ठ चिकित्सक गोविन्द केसीले लगाएका थिए।
 

 

आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थका लागि अख्तियार दुरुपयोग अनुसन्धान
आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्ट व्यक्तिलाई संरक्षण दिएर
हस्तक्षेप बढाएका छन्
, केसीले भनेका थिए, आफ्ना भाइको
मेडिकल कलेजलाई सम्बन्धन दिन चलखेल गरेका छन्।