खल्तीमा सय रुपैयाँ भन्दा कम छ, तर भोक निकै लागेको छ भने लुम्बिनी तन्दुरी भोजनालयमा जानुहोस् ।

खल्तीमा सय रुपैयाँभन्दा कम छ, तर भोक निकै लागेको
छ भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छरिएर रहेका ९५ वटामध्ये नजिकैको लुम्बिनी
वा पाल्पाली तन्दुरी भोजनालयमा जानुहोस् । रोटी र तरकारी पेटभरि खानुहोस् । यो कुनै
अफर होइन
, यथार्थ हो ।

 

काठमाडौंको कालिमाटी नजिकै टंकेश्वरबाट प्रारम्भ
भएको लुम्बिनी तन्दुरी भोजनालयको यात्राले दुई दशक पार गरिसकेको छ । सस्तोमा खाना तथा
खाजा ख्वाउने थलोका रूपमा काठमाडौं उपत्यकावासीहरूमा परिचित लुम्बिनी तन्दुरी भोजनालय
कुनै चेन रेस्टुराँभन्दा कम छैन
, तर यसका शाखैपिच्छे सञ्चालकहरू भने फरक फरक छन्
। जबकि मेनु भने प्राय: उस्तै हुन्छ । कोइलाको भुङ्ग्रोमा सेकेर पकाइएको रोटी र नानसँग
राजमा करी
, चिकेन करी, दही, चटनी, पालक पनिर, आलुमटर, मटर पनिर, दाल फ्राईजस्ता झन्डै तीन दर्जन परिकारको स्वाद
लिन सकिने लुम्बिनी तन्दुरी भोजनालयका शाखाहरूलाई एक प्रकारको फ्रेन्चाइज  मान्न सकिन्छ ।

 

लुम्बिनीको कथा

सस्तोमा खाना ख्वाउँदा पनि हामीलाई केही न केही
नाफा हुन्छ । हामी धेरै नाफा खोज्दैनौं । हरिप्रसाद पोखरेल भन्छन् । हरिप्रसादका काका
चूडामणि पोखरेल तथा रामप्रसाद पोखरेलले नै काठमाडौंको टंकेश्वरमा २०५२ ताका पहिलो लुम्बिनी
तन्दुरी भोजनालय सञ्चालनमा ल्याएका थिए । यी पोखरेल बन्धु लुम्बिनी अञ्चलको अर्घाखाँची
जिल्लाका हुन् । हरिप्रसादले इतिहास सुनाए ०५०/५१ सालतिर अर्घाखाँचीका एक मानिसले काठमाडौंको
बालाजुमा खाजा होटल खोले । उनले त्यहाँ ५० पैसामा चिया
, एक रुपैयाँमा समोसा बेच्न थाले । ती थिए कमलप्रसाद
पोखरेल । उनले त्यही होटलको आम्दानीबाट राम्रैसँग घरव्यवहार चलाएको गाउँका सबैलाई थाहा
थियो ।

 

त्यतिबेला चूडामणि र रामप्रसाद दिल्लीको एक सुकुम्बासी
बस्तीमा होटल चलाउँथे । दिल्लीमा सस्तोमा खाजा तथा खानाका लागि तन्दुरी होटलहरू साह्रै
प्रचलित थिए । चूडामणि र रामप्रसाद तन्दुरमा रोटी तथा त्यसका लागि आवश्यक तरकारी तयार
पार्न पोख्त भैसकेका थिए । त्यही बेला दिल्ली महानगरपालिकाले सुकुम्बासी बस्ती भत्कायो
अनि रामप्रसाद र चूडामणिलाई बालाजुमा होटल चलाइरहेका कमलप्रसादले काठमाडौं बोलाए ।
रामप्रसाद र चूडामणि चुल्होको डेक्ची र कराही बोकेर काठमाडौं छिरे अनि उनीहरूले नै
टंकेश्वरमा लुम्बिनी तन्दुरी भोजनालय सुरु गरे ।

 

हरिप्रसादका अनुसार, सुरुका दिनमा काठमाडौंका रैथानेहरूमा एकपाटो मात्र
पकाएको रोटी खान हुँदैन
, त्यस्तो रोटी भूतले मात्र खान्छ भन्ने भ्रम थियो । त्यसैले रामप्रसाद
र चूडामणिलाई लोकल ग्राहक तान्न गाह्रो भयो । काठमाडौं आउने भारतीय तथा बोर्डरछेउका
नेपालीहरूले पहिले नै तन्दुरी रोटीको स्वाद चाखिसकेका थिए । त्यसैले यो भोजनालयको पहिलो
ग्राहक उनीहरू नै भए । बिस्तारै काठमाडौंवासी पनि तन्दुरीको स्वादमा भुलिन थाले । टंकेश्वरपछि
कुलेश्वरमा दोस्रो लुम्बिनी तन्दुरी भोजनालय सञ्चालनमा आयो ।

 

त्यसपछि अर्घाखाँचीका पोखरेलहरू दिल्लीमा तन्दुरी
पोल्ने काम छोडेर काठमाडौं आउन थाले । अर्घाखाँचीबाट सीधै आउनेहरूले यतै प्रशिक्षण
लिए
, सिक्दै गए र लुम्बिनी
तन्दुरीलाई उपत्यकाभरि बिस्तार गर्दै गए । बिस्तारै त्यसमा अर्घाखाँचीका पौडेलहरू पनि
मिसिए अनि बिस्तारै अरू पनि । हरिप्रसाद भन्छन् 
अहिले पनि काठमाडौं उपत्यकाका ८० प्रतिशत लुम्बिनी तन्दुरी भोजनालयका सञ्चालक
पोखरेलहरू नै छन् ।

 

पाल्पाली पनि लुम्बिनी

कतै लुम्बिनी कतै पाल्पाली नाममा यत्रतत्र तन्दुरी
भोजनालय सञ्चालित छन् । थापाथलीको नर्भिक हस्पिस्टल छेउमा लुम्बिनी तन्दुरी सञ्चालन
गरिरहेका हरिप्रसाद पाल्पाली भोजनालय पनि लुम्बिनी तन्दुरी भोजनालयअन्तर्गत नै रहेको
बताउँछन् । एउटा खोल्सोले पाल्पा र अर्घाखाँचीलाई छुट्टयाएको छ । उनीहरू पनि पोखरेलका
दाजुभाइ खलक नै हुन् । पाल्पाबाट आएर तन्दुरी भोजनालय सञ्चालन गरेकाले उनीहरूले पाल्पाली
नाम राखेका मात्र हुन् ।

 

लगभग ६ वर्षअघि नेपाल सरकारमा लुम्बिनी तन्दुरी
व्यवसायी संघ दर्ता भएको छ
, जसमा ९५ भन्दा बढी तन्दुरी व्यवसायी आबद्ध छन् । यसमा पाल्पाली
तन्दुरी भोजनालयहरू पनि गाभिएका छन् भने यसमा लोकप्रिय तन्दुरी तथा कान्तिपुर तन्दुरी
पनि आबद्ध छन् । प्रत्येक वर्ष उनीहरूको साधारणसभा हुन्छ र त्यहाँ आफ्ना कामकारबाहीको
लेखाजोखा गरिन्छ । अहिले लुम्बिनी तन्दुरीका अध्यक्ष खिमानन्द बस्याल छन् भने महासचिव
नेत्रप्रसाद पोखरेल हुन् ।

 

कुरा स्वादको

सस्तो मात्र भनेर पनि हुँदैन, स्वाद पनि दिन सक्नुपर्छ  भन्ने कुरामा लुम्बिनी तन्दुरी व्यवसायी संघसँग
आबद्ध सबै तन्दुरी व्यवसायी एकमत छन् । उनीहरू भन्छन् हामी ग्राहकहरूसँग डराउँछौं ।
एउटा ग्राहक बासी खानाको सिकार भयो भने उसका कारण घटीमा १० जना ग्राहक भड्किन्छन् ।
एक त तन्दुरी रेस्टुराँहरूमा प्राय: खाना बासी रहन पाउँदैन । रह्यो भने पनि उनीहरू
त्यसलाई मिल्काउँछन् । लुम्बिनी पाल्पाली भोजनालयका रोटीमा नुन र पानीबाहेक केही पनि
नमिसाइने उनीहरूको दाबी छ । व्यवसायीहरू भन्छन् 
हामी नाफाभन्दा पनि ग्राहकहरूको आगमन निरन्तर भैरहोस् भन्ने चाहना राख्छौं ।

 

जापानमा पनि लुम्बिनी


तोयनाथ पोखरेल बागबजारमा कान्तिपुर तन्दुरी भोजनालय
सञ्चालन गर्थे । जापान गएपछि सन् २००९ मा उनले जापानको होकाइदो सहरको नाकाजिमामा लुम्बिनी
तन्दुरी क्याफे सञ्चालनमा ल्याए जुन उक्त क्षेत्रमा निकै लोकप्रिय छ । विशेषगरी एक
हजार यानमा पाइने तन्दुरी सेटले जापानी ग्राहकहरूको मन जितिरहेको छ । विदेशमा खोलिएको
यो पहिलो लुम्बिनी भोजनालय भएको बताइन्छ । अहिले भने कतार
, दुबई तथा मलेसियामा पनि लुम्बिनी तन्दुरीको विस्तार
भैसकेको छ ।

कान्तिपुर साप्ताहिक