मोदीबेणी आश्रमलाई एनआरएन बेल्जियमको सहयोग

सुर्य भुसाल 
काठमाडौं । बेल्जियम निवासी एनआरएनहरूले मोदीवेणी ज्येष्ठ नागरिक आश्रम विकास समितिलाई आज एक समारोहका बीच दुईलाख सतसठ्ठीहजार एकसय बीस रूपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । उक्त सहयोग व्यवस्थापिका संसद सदस्य तथा काँग्रेस नेता अर्जुनप्रसाद जोशीले आज समितिलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै सांसद जोशीले ज्येष्ठ नागरिकको हितका लागि गरेको सहयोगले पूण्यको काम गरेको वताउनुभयो । यो सहयोगले आफूलाई समेत सहयोगका लागि प्रेरित गरेको वताउँदै आगामी दिनमा अरू सहयोग जुटाउन बेल्जियमबासी नेपालीहरूलाई आग्रह गर्नुभएको थियो । समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव कमल जिसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य खुमराज पराजुलीले गर्नुभएको थियो । 
कार्यक्रममा मोदीबेणी दिव्यधामको भौतिक संरचना निर्माणबारे केशबदास वैरागीले प्रकाश पार्नुभएको थियो । वृद्वाश्रमलगायत मोदीबेणीको वृहत्तर विकासका लागि एककरोड ११ लाख महायज्ञबाट संकलन भएको वैरागीले जानाकारी दिनुभयो । 
कार्यक्रममा एनआरएन बेल्जियमका सल्लाहाकार गोविन्दप्रसाद सुबेदी शिबले आफूहरूबाट भएको सहयोग ज्येष्ठ नागरिकको हितमा खर्च गर्न समितिलाई आग्रह गर्नुभएको थियो । उहाँले सहयोग निरन्तर गरिरहने  प्रतिवद्वता समेत व्यक्त गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनका केदार जोशी; भीम जोशी; हिक्मत श्रेष्ठ लगायतको सहभागिता थियो ।