
रुपन्देही कुनैबेला नेपालको अन्न भण्डारको रुपमा चिनिन्थ्यो।
सिँचाईको पर्याप्त सुविधा, उष्णप्रदेशीय हावापानी मेहनती किसान र खेतीयोग्य जमिन भएका कारण रुपन्देही जिल्ला अग्रपंक्तिमा आउँथ्यो। रोजगारीमा कृषि क्षेत्रको ६०.२, कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान रहेको छ।
कुनैबेला आफ्नो खेतीयोग्य जमिन बाँझै राखेर कामको खोजीमा विदेशी भूमीमा पसिना बगाउन गएकाहरु समेत फर्किएर कृषिमै लाग्न थालेको पाइन्छ। रुपन्देहीमा भने खेतीयोग्य जमिनलाई खण्डीकरण गर्ने, व्यवसायको नाममा लथालिङ्ग ढंगले प्लटिङ गर्नेजस्ता गतिविधि बढेको छ।
जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा त्यस क्षेत्रमा जग्गाको कारोबार झनै मौलाएको छ। पर्याप्त धान उत्पादन हुने खेतहरु अहिले प्लटिङ गरेर बेच्नका लागि तयार गरिँदैछ।
बुटवल बेलहिया सडक खण्ड ६ लेनको बन्दै गर्दा सडकबाट भित्री क्षेत्रसम्म पनि जग्गाहरु प्लटिङ गर्न थालिएको छ। जग्गा दलाल पनि यस क्षेत्रमा अहिले सक्रिय भएर किनबेचमा लागेको पाइन्छ।
जिल्लाका बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, देवदह, सैनामैना नगरपालिका धानका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छन्। त्यसैगरी गजेडी, मानमटेरिया, रायपुर, पट्खौली, पश्चिम अमुवा, दयानगर, चिल्हिया, धकधई, सिक्टहन, सेमलार, सालझण्डी, मर्चवार लगायतका क्षेत्रहरु धान, गहुँ, च्याऊ, मौरी, तरकारी, तेलहन तथा माछा उत्पादनका लागि परिचित छन्।
दयानगर छपियाको माछा रुपन्देही मात्र नभई देशभर नै प्रख्यात छ। तर अन्न र कृषिको भण्डारको रुपमा रहेको रुपन्देहीको जमिन खण्डिकरण हुँदै जाँदा अधिकांश जमिन बाँझै रहने गरेको छ। ति क्षेत्रहरुमा अहिले प्लटिङ गरेर खरिदबिक्री गर्ने क्रम बढेको छ।
खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्छ, बाँझो राख्न हुँदैन भनेर कुनै बेला प्रशिक्षण चलाउनेहरु नै अहिले रुपन्देही जिल्लामा जग्गाका व्यापारी बनेका छन्।
पूर्वमा नवलपरासी, पश्चिममा कपिलबस्तु, दक्षिणमा भारत र उत्तरमा पाल्पा चौकिल्ला रहेको रुपन्देही जिल्लाको क्षेत्रफल १ लाख ४१ हजार ३६७ हेक्टर रहेको छ। समुन्द्री सतहबाट १ सय देखि १ हजार २ सय २९ मिटरसम्म उचाई रहेको यो जिल्लामा १ हजार ३ सय ९१ मिमि औसत वर्षा हुने गर्दछ। भगबती पाण्डेको लेख सेतोपाटीले छापेको छ ।