यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आइतबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमालाको व्यापार सहरबजारमा धमाधम भइरहेका छन् ।
कतिपयलाई लाग्ला पाँच सयदेखि हजार रुपैयाँसम्ममा फूलमाला प्रशस्त पाइएला। त्यस्तो सोचाई तपाईंमा छ भने तीनवटा मालालाई तीन हजार पर्छ भन्दा अचम्ममा पर्नेछन् । काठमाडौं न्यूरोडमा (लक्ष्मी फूल) नाम दिइएको एक झुप्पो फूललाई तीन हजारमा बिक्रि गरिएको छ ।
नेपाल र भारतीय फूल व्यापारीले पशुपतिको जात्रा सिद्राको व्यापार भनेझै तिहारबेला राम्रै फाइदा लिएका छन् । व्यापारी मालामाल भए पनि फूलखेती गरेका कृषक भने मेहनत अनुसारको आम्दानी नगरेको गुनासो नै गरिरहेका छन् ।
लक्ष्मी पुजाको दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासागै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाइ छ ।
कान्तिपुरबाट