भारतको उत्तराखण्डमा भएको जीप दुघटना हुँदा ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चम्वावत जिल्लाको लोहाघाटमा आइतबार भएको जीप दुघटना हुँदा ४ नेपाली र २ भारतीयको मृत्यु भएको छ ।
 
भारतीय बाटो हुँदै घर आउने क्रममा बैतडीको शर्मालीका एकै परिवारका ४ नेपालीसहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा शर्माली गाविस २ दुबलाका ६२ वर्षीय गोविन्द साउद, उनका भाई ५४ वर्षीय वाशुदेव, अर्का भाई शिवराजकी श्रीमती ५७ वर्षीया गोमतीदेवी, र ५ वर्षीय भतिजा आयुशको मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको स्थानीय तथा नागार्जुन मावि शर्मालीका प्रअ महामलसिंह साउदले बताए ।
 
लोहाघाटबाट मगलक जाँदै गरेको यूके ०३ टीए ०७२२ नम्बरको बोलेरो जीप रौलगाँव नजिकको भीरबाट करीब ३ सय मिटर तल खसेको हो । १६ यात्रु रहेको जीपमा अन्य १० जना घाइते छन् । घाइतेहरुमा ६ जना नेपाली समेत रहेको बताइएको छ । 
कञ्चनुपरको दोधारा चादनी बस्दै आएका मृतक साउद परिवारका ८ जना पुजाआजा गर्न पुख्र्यौली गाउँ आउँदा दुर्घटनामा परेका हुन् । घाइतेहरुमा शर्माली-५ कोणका चन्द्रसिंह साउद लगायतका मृतक परिवारकै अन्य ४ जना छन् । 
उनीहरुको हल्द्वानी र सामुदायिक स्वास्थ्य केन्द्र लुहाघाटमा उपचार भइरहेको छ । मोडमा गति अनियन्त्रित भएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । कान्तिपुरमा समाचार छ ।