बाघको आक्रमणबाट चार सुरक्षाकर्मीसहित १० जना घाइते, बाघलाई गोली हानेर मारियो

 पर्सा वन्यजन्तु आरक्षबाट निस्केर बस्ती क्षेत्रमा प्रवेश गरेको बाघले आक्रमण गर्दा मंगलबार पर्सामा चारजना सुरक्षाकर्मीसहित १० जना घाइते भएका छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
पर्साको रामनगरी र लखनपुर गाविसको बीचमा पर्ने खेतमा काम गरिरहेका सर्वसाधारणमाथि बाघले एक्कासि आक्रमण गरेको जनाइएको छ ।
सोलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहसहित चारजना सुरक्षाकर्मी पनि बाघको आक्रमण परी घाइते हुन् ।
बाघको आक्रमणमा परी घाइते भएका अरु सर्वसाधारणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मानवबस्तीमा पसेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले गोली चलाएको र गोली लागेर बाघ मरेको बताइएको छ ।
मरेको बाघलाई वीरगन्जस्थित जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बाघलाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय वनजन्तु आरक्षकको टोली परिचालित भएको थियो  —-अनिल तिवारी (इमेज):