देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व

देशभर ७१ वटा सुविधासम्पन्न स्मार्ट पेट्रोलपम्प खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधारण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेपछि ७१ वटा ठूला पम्पका लागि प्रस्ताव परेको छ ।
नेपाल आयल निगमले निश्चित समय दिएर ठूला पम्प खोल्न चाहानेका लागि आवेदन मागेको थियो । तोकिएको अवधिमा १५ वटा ठूला सरकारी तथा सहकारी पम्पका लागि पनि आवेदन परेको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ५६ वटा ठूला पम्पमा लागि व्यावसायिक फर्महरुले आवेदन हालेका छन् ।
पूर्वाञ्चलमा १२ वटा स्मार्ट पम्पहरु खुल्ने भएका छन् । मध्यमाञ्चलमा २६ वटा सुविधासम्पन्न पम्पका लागि स्वीकृति मागिएको छ । त्यसैगरी पश्चिमाञ्चलका लागि १६ वटा र मध्य तथा सुदूरपश्चिमाञ्चलका लागि १-१ वटा ठूला निजी पम्पको लागि निगमसँग स्वीकृति मागिएको छ ।
निगमले ठूला र आधुनिक प्रविधि तथा सुविधायुक्त नमूना पम्प सञ्चालन गर्ने गरी बिक्रेता विनियमावलीमा संशोधन गरिसकेको छ । अब खुल्ने पम्प ठूलो क्षेत्रमा फैलिएका अत्याधुनिक र सवारीमैत्री हुनेछ ।
अब स्थलगत रुपमा पम्प खुल्ने स्थानको अनुगमन गरेर पम्प खोल्न अनुमति दिइने निगमका प्रवक्ता पोखरेलले बताए ।