दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै

धनवीर पुन
नयाँ दिल्ली । भारतको राजधानी शहर नयाँ दिल्ली तथा दिल्ली वरपरबाट यात्रा गर्ने यात्रीहरुलाई नेपाल जान आउन अब सहज हुने भएको छ । सो सुविधान स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति, प्यूठानले दिने भएको हो । व्यवसायी समितिले दिल्ली-प्यूठान-दिल्ली बस सञ्चालन खास गरी प्यूठानलाई लक्षित गरि शुरु गरिने बताएको छ ।
 
स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति अध्यक्ष सुनिल बस्नेत, उपाध्यक्ष तुकबहादुर थापा, महासचिव चन्द्रमान श्रेष्ठ, प्रशासनिक सचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष विशाल शर्मा, सदस्यहरु विनोद गौतम, नारायण केसी, भूपेन्द्र पोख्रेल र प्रकाश घिमिरे लगायतको प्रतिनिधि मण्डलले नयाँ दिल्लीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार एवं प्यूठानका पूर्व सांसद हरि आचार्य, उपाध्यक्ष कपिल खनाल र पत्रकार धनवीर पुनसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
विस २०६० चैत्र १२ गते स्थापना भएको सो व्यवसायी समितिको अध्यक्षमा सुनिल बस्नेत छन् । व्यवसायी समितिको हालै सम्पन्न साधारण सभाले दिल्ली-प्यूठान बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । सो समितिले हाल प्यूठानदेखि महेन्द्र नगर, काठमाडौं, बुटवल, नेपालगञ्ज, कृष्णनगर, नारायणघाट, घोराही, तुल्सीपुर लगायत जिल्लाका अधिकांश स्थानहरुमा बस तथा साना गाडीहरु सञ्चालन गरेको छ । 
स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति, प्यूठानले दिल्ली-प्यूठान बस सञ्चालनले प्यूठान, रोल्पा, गुल्मीको पश्चिम भेग, अर्घाखाँचीको पश्चिम भेगलाई राम्रो सहुलियत प्राप्त हुनेछ । व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले दिएको जानकारी अनुसार दिल्लीबाट नेपालको सम्बन्धित स्थानसम्म पुग्दा दुरीका हिसाबले आफुहरुले भाडा लिने बताएका छन् । समितिले छिटै डिलक्स बस सञ्चालन गर्ने बताए । 

अन्य समाचारहरु