कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता

मानवतस्करको ‘सेटिङ’ सञ्जालमार्फत कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता पठाइएको छ ।


नौमध्ये दुइ घरेलु कामदार माया गुरुङ र गौरीकुमारी ओलीले लिएको श्रम स्टिकरसमेत नक्कली पाइएको छ । तर, उनीहरु यही नक्कली श्रमका भरमा काठमाडौं बिमानस्थलबाट उडेका थिए । दुतावासले उपलब्ध गराएको ट्राभल डकुमेन्ट लिएर घर फिर्ता हुनेमा टीकामाया गौतम, फूलमुनी टुडु, पार्वती बुढाथोकी, शर्मिला योन्जन, मैनामुनि सतार, सीता अधिकारी र कविता राजबंशी छन् ।


एयर अरेबियाको उडानबाट गत बुधबार काठमाडौं उत्रिएका कामदारलाई भारत, श्रीलंका र अफ्रिकी मुलुकको बाटो हुँदै ‘सेटिङ’ बाट कुवेत पठाइएको जानकारी दुतावासले गराएपछि वैदेशिक रोजगार बिभागले यसबारे सोधपुछ गरिरहेको बिभागका एक अधिकारीले बताए ।

यसैगरी, नक्कली श्रम स्टिकरका भरमा काठमाडौं बिमानस्थलबाटै बाहिरिएका दुई कामदारसँग अध्यागमनसहित मातहतका निकायले छानबिन गरिरहेका छन् ।
यसरी कुवेत जाने युवतीले गाउँघरदेखि काठमाडौंसम्मका एजेन्ट र अन्य प्रकृयामा गरेर १ लाख रुपैंयासम्म खर्च भएको जानकारी दिएका छन् । 

कान्तिपुरबाट