सुत्केरी हुन नसकेर बाजुराको हिमाली गाउँपालिका-६ पाणी गाउँकी १६ वर्षीया सिद्धा बिकको बिहीबार बिहान मृत्यु भएको छ ।
बुधबार साँझ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको भए पनि ढिलो भएकाले चिकित्सकले बचाउन सकेनन् । तल्लो पेट दुख्न सुरु हुन थालेको चार दिनसम्म अभिभावकले घरमै राखेका र पाँचौ दिनमा मात्र करिब ७ घण्टाको पैदल बोकेर कोल्टीस्थित स्वास्थ्य संस्थामा ल्याइएको थियो । ढिलो गरी ल्याइएको र संस्थामा शल्यक्रिया गर्ने सुविधा नभएकाले उनलाई बचाउन सकिएन् , डा. विजयकुमार साहले भने, स्वास्थ्यमा ल्याउँदा शिशुको गर्भमै मृत्युको मृत्यु भइसकेको र पाठेघरभित्र गन्हाउने अवस्था थियो । आकस्मिक शल्यक्रिया हुन सके बाँच्न सक्ने सम्भावना थियो । कोल्टीमा शल्यक्रिया सुविधा छैन ।
स्वास्थ्य केन्द्रकी अनमी देउमा धामीले कोल्टीमा उपचार हुन नसक्ने बताउँदै बुधबार नै रिफर गरेको भए पनि यातायातको असुविधाका कारण आफन्तले जिल्ला बाहिर वा सदरमुकामसम्म ल्याउन नसकेको बताइन् । सदरमुकाम मार्तडीमा शल्यक्रियासहितको सेवा उपलब्ध भए पनि कोल्टीबाट पैदल बोकेर मार्तडी पुग्न एक दिन लाग्ने भएकाले उनीहरुले नेपालगञ्ज लैजानका लागि जहाजको बाटो कुरेका थिए । प्रसूती भइहाल्छन् भन्ने सोचेर घरमै कुर्यौ, कोल्टी पुर्याउँदा डाक्टरले ढिलो भयो भनेपछि जहाजको बाटो हेर्दाहेर्दै मृत्यु भयो सिद्धाका भाई प्रसाम बिकले भने, समयमा जहाज आएन, अन्य वैकल्पिक उपाय पनि भएन ।
सिद्धाको गर्भ अवैध भएको खुलेको छ । उक्त गर्भ स्थानीय करिब २६ वर्षीय चन्द्र रोकायाको भएको सिद्धाका आफन्तले आशंका गरेका छन् । दुई छोरीका बाबु समेत रहेका चन्द्र सिद्धाको गर्भ रहेको थाहा पाएपछि गाउँ छाडेर भारतमा गएको बताइएको छ । कान्तिपुरमा समाचार छ ।