बुटवलमा औद्योगिक प्रदर्शनी सुरु

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकीकरण तथा ब्यापार विविधीकरण’ नाराका साथ बुटवलमा दोस्रो राष्ट्रिय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको संगठनका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण आचार्यले उद्घाटन गरेका छन् । सो अवसरमा आचार्यले औद्योगिकरणको विकास हुन नसक्दा नेपालको अर्थतन्त्र पराधीन बनेको उल्लेख गर्दै स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “औद्योगिक विकास विना उत्पादन बढ्दैन र निर्यात गर्न पनि सकिंदैन,” आचार्यले भने, “मुलुकलाई आत्मनिर्भर बनाउन र व्यापारघाटा घटाउन उद्योगधन्दाको तीब्र विकास गर्नुको विकल्प छैन ।” 
प्रदर्शनी उद्घाटनका अवसरमा विभिन्न दलका नेताहरुले राजनीतिक आन्दोलन पूरा भएकाले सिंगो मुलुकको ध्यान औद्योगिक विकास र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए । प्रदर्शनी आयोजक संस्थाका अध्यक्ष खेम श्रीसले  उद्यमशीलताको विकास, कृषिको व्यवसायीकरण र  पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गरेको बताए ।
प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषिजन्य उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल, सूचना प्रविधि तथा इलोक्ट्रोनिक्स, गार्मेन्ट तथा फुटवेयर, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरेन्टलगायतका तीन सयबढी स्टल रहेको महासचिव सीताराम रसाइलीले जानकारी दिए ।
पछिल्ला वर्षहरुमा सबै ब्यापारिक संघसंस्थाले विभिन्न नारा दिएर ब्यापार मेला तथा प्रदर्शनी गर्ने प्रचलन बढेसंगै उपभोक्ताको आकर्षण भने यस्ता मेला÷प्रदर्शनीमा घट्न थालेको छ । आकर्षक नारा दिएपनि मेला÷प्रदर्शनीहरु हाट बजार जस्तै हुन थालेको र उपभोक्ताहरु लाभान्वित हुने भन्दा ठगिने क्रम बढेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।