दीपक भुसाल
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलबाट नयाँ बानेश्वरसम्म प्रभातफेरी आयोजना गरेको छ ।
प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भएतापनि त्यसलाइ व्यवहारमा प्रत्याभुत गर्न नसकिएको बताए । उनले भदौ महिनादेखि लागु हुने फौजदारी आचारसंहितामा समाचार लेखेकै आधारमा पत्रकारलाई सजाय गर्नसक्ने धेरै प्रावधान रहेको भन्दै त्यो प्रेस स्वतन्त्रताप्रति बाधक हुने धारणा राखे ।
महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले विगतमा तुलनामा प्रेस स्वतन्त्रताको अवस्थामा निकै सुधार आएको भएतापनि प्रवृत्तिगत आधारमा भने चुनौती कायमै रहेको बताए । उनले प्रेस स्वतन्त्राको अवस्था सुधार्न केही नीतिगत, कानुनी, संरचनागत र व्यावहारिक क्षेत्रमा काम गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।
त्यसैगरि महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले विश्वमा पत्रकारमाथि भैरहेको हत्या तथा आक्रमणको विरोध गर्दै त्यस्ता कुकृत्यको अन्त्य हुनुपर्ने धारणा राखे । उनले प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रीक सरकारको दायित्व रहेको भन्दै पत्रकारिताका लागि उचित वातावरण निर्माण गर्न सरकारलाइ आग्रह गरे ।
शक्तिको निगरानीः मिडिया, न्याय र विधिको शासनलाइ जोड दिदै युनेस्कोले यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा दिएको छ । कोणसभाका क्रममा महासंघका अध्यक्ष एवम् पदाधिकारी तथा पूर्व अध्यक्षहरुले महासंघद्घारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।
दिवसका अवसरमा जिल्लास्थिति विभिन्न शाखाहरुले पनि प्रभातफेरि र अन्य रचनात्मक कार्यक्रमहरुको आयोजना गरेका छन् । यसैबीच नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले शाखा कार्यालय भृकुटीमण्डपदेखि बानेश्वरसम्मै ब्यानरसहित र्यालीमा सहभागिता जनाएको थियो । त्यसैगरी उपत्यकाका अन्य दुई भक्तपुर र ललितपुर शाखाले पनि प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरि गरेका थिए ।