पहिलो प्रकासित मिती: २६ बैशाख, २०७४
प्रेमनारायण आचार्य
बुटबल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघलाई संघीय ढांचामा लगिएकाले अब त्यसलाई परिपक्क र बलियो बनाउनुपर्ने बताएका छन् ।
उनले पत्रकार महासंघले जिल्ला, प्रदेश र केन्द्र गरि तीन तहको संरचना बनाएको बताउँदै तत्तकाल जिल्ला भन्दा तल भने पत्रकार महासंघको संरचना नबन्ने बताए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का निर्वाचित समितिको पदस्थापना समारोहलाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्तो बताएका हुन ।
उनले प्रदेश समिति अधिकार सम्पन्न भएको बताउदै तत्कालै जिल्ला समितिलाई कमजोर बनाएर अघि भने नबढ्ने बताए ।
अहिले केन्द्र, प्रदेश र जिल्ला समितिको समन्वयमा नै पत्रकार महासंघका कामहरु अघि बढ्ने अध्यक्ष आचार्यको भनाई छ । उनले केन्द्रले नितिगत काम गर्ने, प्रदेश समितिले सदस्यता स्विकृत गर्ने, प्रदेशका शाखाहरु सञ्चालन गर्ने गरि आफ्नो गतिविधि अघि बढाउन आग्रह गरे । तत्तकाल जिल्ला समितिसग समन्वय गरेर काम गर्नुपर्ने भन्दै निवनिर्वाचित समितिलाई नमूना काम गर्न सुझाव दिए ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चुनिएकाले अब पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार गर्न सकिने पाठ सिकेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अब पत्रकार महासंघले केन्द्र,प्रदेश र जिल्ला समितिले तहअनुसारकै सरकारसँग सहकार्य गरेर पत्रकारितालाई अघि बढाउनुपर्ने बताए । उनले प्रदेश समितिलाई अलमलमा नपरी नमूना प्रदेश समितिको रुपमा आफ्नो गतिविधिलाई अघि बढाउन आग्रह गरे । पूर्व सभाषद विनोद पहाडीले संघीयता असफल बनाउने संकेत देखिएको बताउँदै संघियताको भ्रम चिर्ने गरि प्रदेश समितिले बहस चलाउनुपर्ने बताए ।
नवनिर्वाचित २१ सदस्ययी प्रदेश समितिलाई प्रमुख अतिथि पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र निर्वाचन समितिका संयोजक डिआर घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए ।
पदभार गरेपछि नवनिर्वाचित पत्रकार महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष मौसम रोकाले संघीय संरचनाको पहिलो कार्यसमितिले पत्रकार पेशागत हकहितमा समर्पित हुने गरि योजना निर्माण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा निर्वाचन समितिका संयोजक डिआर घिमिरेले प्रदेश समिति चुनौतीका विचमा रहेको भन्दै महासंघको केन्द्रीय समितिले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, निर्वाचन समितिका सदस्य एंव अधिवक्ता मोहन देउजा, पत्रकार महासंघ रुपन्देहीका सहसचिव विनोद परियारले बोलेका थिए ।
निर्वाचित हुनेमा कोको छन् ?
बैशाख २२ गते भएको निर्वाचनमा प्रदेश ५ मा प्रत्येक पदमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको थियो । निर्वाचन समितिले भने बुधबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो । प्रदेशको अध्यक्षमा मौसम रोका मगर निर्वाचित भएका छन् ।
यसैगरि खुल्ला उपाध्यक्षमा भरत केसी, महिला उपाध्यक्ष दिपा घर्ति, महिला उपाध्यक्षमा दिपा घर्ति , महासचिवमा भेषराज बस्नेत निर्वाचित भएका छन् । यसैगरि सचिवमा शुक्रऋषि चौलागाई, सचिव समावेशि सन्तोष दहित, कोषाध्यक्ष गणेश वली, खुल्ला तर्फको सदस्यमा विक्रम खड्का, अशोक कुमार खनाल, प्रेमनारायण आचार्य, नन्दराम पौडेल, शोभाकर पन्थी निर्वाचित भएका छन् ।
यसैगरि महिला सदस्यतर्फ खेम कुमारी पोखरेल (दिपु), सरु राना, सोनकली थारु, सदस्य दलित तर्फ शिव कुमार सुनार, आदिवासी जनजाती सदस्यमा लक्ष्मीमान चौधरी, जनजाती सदस्य सुशील श्रेष्ठ, मधेशी सदस्य मनोज कुमार श्रीवास्तव, मधेशी सदस्य राम विकास चौधरी र सदस्यतर्फ ओरिराम चौरसीया निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल, नेपाल प्रेस यूनियन र प्रेस सेन्टरले सहमतीका आधारमा नेतृत्व चयन भएको हो ।