कैलालीबाट बेपत्ता तीन युवती भारतको चण्डीगढमा भेटीए

चण्डिगढ भारत, कैलाली जिल्ला अत्तरियाबाट लापत्ता भएका ३ युवतीहरु दुर्गा भट्ट, सरस्वती भट्ट र नैना गुप्ता भारतको पञ्जाब चण्डीगढमा फेला परेका छन् ।

हराएका युवतीहरुका अभिभावहरुले खोजीका लागि २७ जुलाईका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।

समाजमा परेको निवेदन अनुसार तीन युवतीहरुले चलाइरहेको फोन नम्बर पुलिस क्राइमब्रान्च (ह्यूमेन ट्राफिकिङ व्यूरो सेल) सेक्टर १६ रोहिणी दिल्लीमार्फत ट्रयाकिङ गराइको थियो । समाजका सचिव ठाकुर खनालले हामीलाई बताए । “दिएको जानकारी अनुसार ट्रयाकिङ गर्दा फोन नम्बर चण्डीगढ रहेका पत्ता लाग्यो ।” उनले भने– “त्यसपछि एकता समाजका कार्यकर्ताहरुको पहल तथा चण्डीगढ पुलिसको सक्रियतामा खोजी कार्य अगाडि बढाइएको थियो, भेटिए राम्रो भयो ।

खनालका अनुसार तिब्र खोजीकार्य पश्चात चण्डीगढ पुलिसले ४ अगस्तका दिन तीनै जाना युवतीहरुलाई फेला पारेको थियो । “युवतीहरुका सम्बन्धित अभिभावकहरुको उपस्थिति विना अरुलाई नसुम्पने भएकाले उनीहरुलाई स्नेहालयमा राखिएको थियो” खनालले बताए ।

आज एकता समाजका प्रतिनिधि मंडल दिनेश खडका, रामबहादुर पुन, खिमराज चालिसे, मानबहादुर पुन, माधव पोख्रेल र कृष्ण भट्टराईको रोहबरमा युवतीहरुलाई स्नेहालयले अभिभावकहरुलाई हस्तान्तरण गरेको छ । इमोसोन खबरबाट