डिआरजी सुमन
कैलाली, १७ फागुन। स्वतन्त्र पत्रकार संघ नेपालले सुदूरपचिमाञ्चलको कैलालीमा १९ आंै जिल्ला शाखा गठन गरेको छ।
संघको शुक्रवार सम्पन्न भेलाले पाण्डव पुजाराको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा जीवन विष्ट, सचिवमा केशव भट्टराई, सहसचिवमा चित्रराज भण्डारी, कोषाध्यक्षमा वसन्ती देउवा चयन भएका छन्।
यसैगरी, समितिको सदस्यमा जनक धामी, हरिश भट्ट राधिका ओझा, टीका बोहोरा, यमुना उपाध्याय, शारदा बोगटी, संगीता कुँवर, तेजबहादुर मल्ल, पुष्करराज उपाध्याय र दीपक बम रहेका छन्।
संघको राष्ट्रिय पार्षद्मा नीराजन परियार, पवन बोगटी, केशव विष्ट, निर्मला कठायत र चाँदनी बोगटी तथा प्रदेश पार्षद्मा सलिना सेठी, हरि भट्ट, दीपेन्द्र खड्का र सुशीला धामी चयन भए ।
भेलाको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारबीच पनि वास्तविक पत्रकारको खोजी नै स्वतन्त्र पत्रकार संघको अभियान भएको बताए।
संघका महासचिव नवराज पहाडीले कसैको दबाब र प्रभावमा पत्रकारिता गर्न नहुने भएकाले स्वतन्त्र पत्रकार संघको खाँचो रहेको धारणा व्यक्त गरे।
उप–महासचिव राजेन्द्रजंग रायमाझीले पत्रकार आफैँमा स्वतन्त्र भएकाले अरुको चश्मा लगाएर हेर्न नपर्नेमा जोड दिए।
कोषाध्यक्ष वीरेन्द पाण्डेले जाति–जातिबीच असमानता र भेदभाव अन्यका लागि आफू स्वतन्त्रको झण्डा बोकेर सगरमाथा चढ्ने घोषणा गरे।
यसैगरी, राष्ट्रिय पार्षद् डीआरजी सुमनले स्वतन्त्र पत्रकार संघको उद्देश्यमाथि प्रकाश पार्दै सुदू्रपश्चिमका पत्रकारको स्वतन्त्रप्रति देखाएको सदाशयता, उत्साह र सम्मानजनक व्यवहारप्रति आभार व्यक्त गर्दै स्वतन्त्रप्रतिको आस्था र विश्वासमा तुषारापात पर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, कैलालीका सल्लाहकार हिक्मत रावलले पार्टी पत्रकारिताले स्वतन्त्र पत्रकारिता खुम्चिन पुगेको बताए। उनले समाजमा स्वतन्त्र भएर हिँडन असहज भए तापनि त्यो असहजतालाई आफ्नो कर्म र व्यवहारले चिर्नुपर्नेमा जोड दिए।
पत्रकार नवराज धामीले स्वतन्त्र हुनु आफैँमा गौरवान्वित कुरा भएको धारणा राखे।
कैलाली बहुमुखी क्याम्पसको सभा कक्षमा सम्पन्न भेलामा सोही क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता र स्वतन्त्र पत्रकारबीच अन्तरक्रियासमेत भएको थियो।
पत्रकार नीराजन परियारको अध्यक्षतामा भएको भेलामा दिनेश विष्टले स्वागत मन्तव्य र जीवन विष्टले सञ्चालन गरेका थिए।
सुदूरपश्चिम क्षेत्रको पत्रकारिताको अवस्था अवलोकन, निर्मला पन्थको परिवारप्रति सद्भाव व्यक्त गर्ने सन्दर्भमा कैलाली रहेको स्वतन्त्र पत्रकारको टिमले शनिवार बर्दियाको जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
साथै, शनिबारै बाँके शाखाको जिल्ला अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको कोषाध्यक्ष वीरेन्द्र पाण्डेले जानकारी दिए।