नेपाल लाइफ इन्स्याेरेन्सद्वारा सरकारको कोरोना कोषमा एक करोड रुपैयाँ सहयोग

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ जम्मा गरेको छ।

उक्त रकमको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेका हुन्।

सिंहदरवारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए।

उनले सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न प्रतिवद्ध रहेको बताए।