एक महिनामा ७२ करोडको तरकारी र फलफूल आयात

भैरहवा-कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल र भारत दुवै देशमा लकडाउन भएता भारतबाट तरकारी, फलफूल निवार्ध रुपमा आयात भइरहेको छ ।

आलु, प्याज, हरियो तरकारी र विभिन्न फलफूलहरु निर्वाध रुपमा आयात हुँदा नेपालमा अभाव देखिएको छैन । चैत महिनामा मात्रै भैरहवा नाकाबाट ७२ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु, प्याज, तरकारी तथा फलफूल आयात भएको छ । भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार चैत महिनामा २१ हजार ३ सय १० मेट्रिक टन हरियो तरकारी, आलु, प्याज र विभिन्न फलफूल आयात हुँदा २ करोड १३ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


चैत महिनामा सबैभन्दा बढी प्याज आयात भएको छ । कार्यालयका अनुसार सो महिनामा २५ करोड ९० लाख १२ हजार रुपैयाँको ६ हजार ९ सय ८६ मेट्रिक टन प्याज आयात भएको छ ।

प्याज पछि आलु बढी आयात भएको छ । ९ करोड ७ लाख २० हजार रुपैयाँ बराबरको ३५ सय ५९ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । त्यसैगरी १० करोड १२ लाख ९० हजार रुपैयाँ बराबरको ३३ सय २१ मेट्रिक टन काँचो केरा पनि चैत महिनामा भैरहवा नाका हुँदै आयात भएको छ । यो अवधिमा हरियो तरकारीहरु ३१ लाख ४२ हजार रुपैयाँ बराबरको २ सय ८९ टन आयात भएको छ ।

कार्यालयका अनुसार अनार, कटहर, ज्याक फ्रु्रटहरु १ करोड ४६ लाख रुपैयाँको, स्याउ ७३ लाख ४१ हजार रुपैयाँको, मेवा २ करोड १२ लाख ६१ हजार रुपैयाँको, खरबुजा २ करोड १४ लाखको, कागती दाना ३ करोड ७७ लाख ७९ हजारको, सुन्तला ७ करोड २१ लख ४७ हजारको, आँप ४ लाख ५७ हजार रुपैयाँ बराबरको आयात भएको छ । लकडाउनको समय भए पनि उपभोग पूर्ववत रुपमा भएकाले दैनिक उपभोग्य वस्तुहरु आलु, प्याज, तरकारी तथा फलफूलको आयात दिनहुँ भइरहेको छ ।

कृषि प्रधान देश भए पनि एकै नाकाबाट एक महिनामा त्यो पनि लकडाउनको समयमा यति धेरै परिमाणमा आलु, प्याज, तरकारी तथा फलफूल आयात हुनुले देशमा कृषि व्यवसाय गर्नेहरु कम हुँदै गएको स्पष्ट हुन्छ ।

राज्यले कृषकहरुलाई कृषि पेशा गर्न विभिन्न सहुलियत नदिनु, प्रोत्साहन नीतिमा मात्र सिमित हुनु, उन्नत प्रविधि कृषिमा प्रयोग हुन नसक्नु, सिँचाइ, मलको अभाव जहिले पनि हुनु जस्ता प्रमुख कारणले कृिष पेशा अपनाउनेहरु घटदै गएका छन् । त्यसको असर दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत आलु, प्याज र फलफूलमा समेत भारतसँग परनिर्भर हुनु परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।
 

स्रोत – कारोबार