असारमा बैंकलाई बुझाउनुपर्ने किस्ताकाे व्याज घट्ने

बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्म बुझाउनुपर्ने चौथो त्रैमासिक किस्तामा ऋणीलाई २ प्रतिशत व्याज कम पर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि यस्तो सूचना जारी गरेको हो।
ऋणीले चैत मसान्त (तेस्रो त्रैमासिक अवधि)मा बुझाएको किस्तामा जोडिएको व्याजभन्दा असार मसान्तमा बुझाउने किस्तामा २ प्रतिशत व्याज कम हुने भएको हो।
तर यस्तो सहुलियत व्याज सबै ऋणीहरुलाई भने हुने छैन। खाद्यान्न प्रशोधन तथा बिक्री वितरण व्यवसाय, ग्यास, साबुन, औषधि, इन्टरनेट तथा दूरसंचार, मदिराजन्य उद्योग व्यवस्थामा यस्तो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ।
कोभिड १९ ले पारेको आर्थिक असरलाई लक्षित गर्दै राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।
बैंकहरुले दिएको यो सहुलियत व्याजदर गणना गर्दा आधारदर भन्दा कम गर्न भने बाध्य नहुने जनाइएको छ। 
त्यस्तै २०७७ वैशाख तथा जेठ महिनामा असुल गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंकहरुलाई भनेको छ। यस्ता किस्ताको हकमा कुनै थप शुल्क वा हर्जाना लिन पाइने छैन।
त्यस्तै किस्ता असुल नभएको कारणले सो कर्जालाई तल्लो वर्गामा वर्गीकरण गर्नुपर्ने छैन।
बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा व्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने व्यवस्था मिलाइएको छ। सेतोपाटीमा समाचार छ ।