नीति तथा कार्यक्रममाथि संसदमा आइतबार र साेमबार छलफल हुने, प्रधानमन्त्रीले मंगलवार जवाफ दिने

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा यही जेठ ४ र ५ गते हुने भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिले दुई दिन मात्रै नीति तथा कार्यक्रममाथि छलफल गर्ने निर्णय गरेको हो ।

त्यस्तै, ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नीति तथा कार्यक्रममाथिको छलफल कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेको थियो ।

कोरोना संकटलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा अपनाएर बैठक बस्ने बताइएको छ । सांसदहरूलाई सिट हेरफेर नगर्नसमेत भनिएको छ ।

सांसदहरू सुरुका दिनदेखि जुन सिटमा बसेको हो त्यही सिटमै बस्नुपर्नेछ । त्यस्तै, छलफल छोटो बनाउने गरी बैठक अघि बढाउनेसमेत निर्णय भएको छ ।

गत बर्ष भने बैशाख २१ मै नीति तथा कार्यक्रम आएको थियो । नीति तथा कार्यक्रममाथि २२ देखि २४ सम्म तीन दिन चलेको थियो ।