भारतले दियो नेपाल सरकारलाई ३० हजार पीसीआर परिक्षण किट

काठमाडौं । भारत सरकारले आइतवार नेपाल सरकारलाई ३० हजार थान पीसीआर परिक्षण किट हस्तान्तरण गरेको छ ।

उक्त सामग्री मन्त्रालयका आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटहरु राजदूत क्वात्राले हस्तान्तरण गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय जनताको तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर टेस्ट गर्न सक्नेछन्’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । औषधि र किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एक साथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने भारतीय दूतावासले बताएको छ ।

दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।’

-रा स स