भारतमा जुनदेखि चरणबद्ध रूपमा लकडाउन खोलिने

मार्चबाट लागू गरिएको लकडाउन १ जुनदेखि ३० जुनसम्म चरणबद्ध रूपमा खोल्ने गरी भारत सरकारले दिशानिर्देश जारी गरेको छ । यसैअनुसार भारतमा सबै गतिविधिहरू चरणबद्ध रूपमा खोलिनेछ । तर, राति नौ बजेदेखि बिहान पाँच बजेसम्म सबै गतिविधि पूर्ण रूपमा बन्द रहनेछन् । 

पहिलो चरणमा ८ जुनपछि सबै धार्मिकस्थल, होटेल, रेस्टुरेन्ट, सपिङ मल खुल्नेछन् । यसका लागि भारत सरकारले छुट्टै दिशानिर्देश जारी गर्नेछ । 

दोस्रो चरणमा स्कुल, कलेज, शिक्षण–प्रशिक्षण संस्थाहरू खुल्नेछन् । यसका लागि केन्द्र र राज्य सरकारबीच छलफल गरेर निर्णय गरिनेछ । 

तेस्रो चरणमा परिस्थितिअनुसार अन्तर्राष्ट्रिय उडान, मेट्रो सेवा, सिनेमाघर, व्यायामशाला, स्विमिङ पुल र पार्कहरू खोलिनेछ । यसका लागि सम्बन्धित क्षेत्र, निकायसँग छलफल गरेर मिति तोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जिल्ला प्रशासनले केन्द्र सरकारले जारी गरेको गाइडलाइन्सलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रहरू छुट्याउनेछ । यी क्षेत्रमा अत्यावश्यकबाहेकका अन्य सेवा पूर्ण बन्द रहनेछन् । 

राज्य सरकार र केन्द्र शासित प्रदेशहरूले अवस्था हेरेर मानिसको आवागमनलाई खुला गर्न सक्नेछन् र एक राज्यबाट अर्को राज्यमा जान रोक लगाइने छैन। 
१ देखि ३० जुनसम्म चाडपर्व, विवाहलगायतका सामाजिक उत्सवमा पचासभन्दा धेरै मानिस सहभागी हुन पाउनेछैनन्। 

सार्वजनिक स्थल, यातायात र कार्यस्थलमा मास्कको प्रयोग, सामाजिक दूरीको पालनालाई अनिवार्य गरिएको छ । सम्भव भएसम्म कर्मचारीले घरबाटै काम गर्नेछन् ।

सार्वजनिक स्थानमा थुक्नेलाई जरिवाना गरिनेछ, साथै सार्वजनिक स्थानमा पान, गुट्खा, मदिरा आदि सेवन गर्न पनि रोक लगाइएको छ । 

भारतमा संक्रमण
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार ६ सय ९० पुगेको छ । संक्रमणबाट पाँच हजार आठ सय ३० को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारत भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा सातौँ नम्बरमा रहेको छ। 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टामा त्यहाँ आठ हजार तीन सय ८० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितमध्ये ८६ हजार नौ सय ८३ जना उपचारपछि निको भएका छन् । 

-एजेन्सी