हुमाकान्त पोखरेल
हाडहाडे, गुल्मी, ०६ असार । गुल्मीमा अत्याधिक बर्षाका कारण माथिबाट खसेको पहिरोले देउराली यातायातको जीप पुरिदा २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षिया तुल्सीराम काउछाको ज्यान गएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर पंकज चुदालीले जानकारी दिए । गाडीचालक समेत रहेका स्थानीय हाडहाडेकै २० बर्षिय प्रदिप पुन सन्धिखर्कमा उपचारका क्रममा निधन भएको छ ।
साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको देउराली यातायातको जीप हाडहाडेस्थित चुना ओडारमा पुरिएको हो । जीप सवार अन्य ४ जनामध्ये दुईजनाको अवस्था गम्भिर भएको कारणले थप उपचारको लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ ।
२५ बर्षिय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनजनाको भने अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ । स्थानीय ३९ बर्षिय केशव काउछा, २१ बर्षिय खिम काउछा र १८ बर्षिय विशाल काउछाको अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ ।
जीप दिउँसो करिब १२ : ३० तिर पुरिएपनि सामान्य अवस्थाका एकजना घाइते पैदलै गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाई भएको हो । लगातार दुई दिनदेखि भइरहेको बर्षाले जमिन कमजोर भएको र पहिरो खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा प्रहरीको टोलिले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर चुदालीले जानकारी दिए ।