काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तराष्ट्रिय चार्टर उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।
नेपालको तर्फबाट नेपाल एयरलाइन्स, निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तरराष्ट्रिय गन्तव्यबाट चार्टर उडान गरी नेपाली काठमाडौं ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर उडान गरिरहेको छ ।
त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर उडान गरिरहेका छन् । अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिवार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर उडानमार्फत नेपाली ल्याउँदैछन् ।
शनिवार बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले बिहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ ।
साथै, शनिवार नेपाल एयरलाइन्सले अष्ट्रेलियाबाट दोस्रो चार्टर उडान गर्ने भएको छ । अष्ट्रेलियाको मेलबर्नबाट २५९ जना नेपाली काठमाडौं ल्याउने विमानस्थलले जानकारी दिएको छ ।
अन्तरराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिवारदेखि दैनिक १० देखि १६ ओटासम्म अन्तरराष्ट्रिय उडान भइरहेको छ । शुक्रवार मात्रै १६ अन्तरराष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तरराष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उल्लेखित उडान यात्रु चार्टर तथा केही कार्गो उडान हुन् ।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ ओटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । – रासस



