काठमाडौं । शनिबार भारततिरबाट नेपालमा प्रवेश गरेको सलह प्रदेश ५ र प्रदेश २ का तराई–मधेसका केही जिल्लामा देखा परेसँगै किसान चिन्तित बनेका छन् । ठूलोे संख्यामा आउने सलहले बालीका पात तथा डाँठसमेत खाएर नोक्सान गर्ने हुनाले किसान चिन्तित हुनु स्वाभाविक हो ।
भारतको राजस्थान, मध्यप्रदेश, हरियाणा, उत्तर प्रदेश, बिहार लागयतका राज्यहरु सलहबाट प्रभावित भएका छन् । शनिबार दिल्ली तथा नोएडातिर पनि सलहको ठूलो झुण्ड देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको केन्द्रीय कृषि मन्त्रालयका अनुसार सलह प्रभावित राज्यमा केन्द्रबाट अभियान सञ्चालन गरिएको छ । हरियाणा र उत्तर प्रदेशमा सलह नियन्त्रणका लागि मद्दत गर्न विशेष दल परिचालन गरिएको भारतको कृषि मन्त्रालयले जनाएको छ ।
दक्षिण–पश्चिमबाट उत्तर–पूर्वतिर हावाको वेग चलिरहेका कारण शनिबार भारतीय क्षेत्रबाट सहलको समूह नेपाल प्रवेश गरेको बताइन्छ । यही अवस्था रहेमा भारतबाट सलहको थप झुण्ड नेपालतिर प्रवेश गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
बिहारको पश्चिम चम्पारणमा शनिबार सहलको झुण्ड आइपुगेको बताइएको छ । नेपालसँग नजिकै भएका कारण सो क्षेत्रमा आएका सहल हावाको दिशा र गति परिवर्तन नभएको अवस्थामा नेपालतर्फ प्रवेश गर्न सक्ने खतरा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम चम्पारणको मधुवनी क्षेत्रमा देखिएको सलहको झुण्ड निकै ठूलो छ । १५ देखि २० किलोमिटर क्षेत्रमा फैलिएको सो झुण्डले निकै ठूलो क्षति गर्न सक्ने बताइएको छ ।
दिनभरी उडेर करिब दुई सय किलोमिटर यात्रा तय गर्न सक्ने सलहले राति बाली खाएर सखाप पार्ने गर्दछ । सलह देखिएका भारतीय क्षेत्रमा केन्द्र, प्रदेश सरकार र किसानहरुले सलह भगाउनका लागि किटनाशक औषधि छर्कनेदेखि लिएर धुँवा, ध्वनिजस्ता माध्यमबाट लखेट्ने गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारततिरबाट लखेटिएका सलह नेपाल प्रवेश गरेको खण्डमा ठूलो विनाश निम्त्याउन सक्छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरु, प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालन भइसकेको जनाए पनि प्रभावकारी नतिजा देखिएको छैन ।रातोपाटिले समाचारमा उल्लेख गरेको छ।



