आर्थिक वर्ष सकिन एक हप्ता बाँकी हुँदा ३४ प्रतिशत बजेट खर्च

अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि विकास बजेट खर्च हुन सकेको छैन ।
विगत ५ वर्षको तथ्याकंलाई हेर्दा पनि विकास बजेट अन्तिम समयमा मात्रै बढ्ने गरेको देखिएको छ ।
अन्तिम समयमा शोधभर्ना र प्राप्ती बढ्ने गरेकोले विकास बजेट बढ्ने गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाको ५ वर्षको तथ्यांक केलाउँदा विकास बजेट खर्चको प्रवृत्तिमा कुनै सुधार भएको देखिँदैन ।
आर्थिक वर्ष २०७१/७२ देखी ०७६ /७७ को तथ्याकंलाई हेर्दा पनि विकास बजेट न्युन नै खर्च भएको देखिन्छ ।
महालेखाको तथ्याकं अनुुसार आर्थिक वर्ष २०७१/७२ मा विकास बजेट ७६.०९ प्रतिशत खर्च भएको थियो भने ०७१/७२ मा ५९.०१ र ०७२/७३ मा ६६.०९ प्रतिशत भएको थियो ।
यस्तै ०७३÷७४ मा सबैभन्दा उच्च ८० प्रतिशत र ०७४/७५ मा ७६.९३ प्रतिशत मात्रै खर्च भएको थियो ।
यस्तै चालु आर्थिक वर्षमा त अहिलेसम्म जम्मा ३४.९० प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षमा पनि जेठ र असारमा बढी खर्च भएको देखिन्छ ।
महालेखा नियन्त्रक गोपीनाथ मैनाली चालु आर्थिक वर्षमा लकडाउनका कारण विकास निर्माणका कामहरु प्रभावित भएकाले विकास बजेट परिचालन थप प्रभावित भएको बताउनुहुन्छ ।
असार १ पछि लकडाउन केही खुकुलो भएका कारण आम्दानी र खर्च दुवैमा केही वृद्धि भने भएको छ ।
चालु आर्थिक वर्षको असार १९ गते सम्मको महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार ९ खर्ब ५३ अर्ब राजस्व संकलन भएको छ भने ९ खर्ब ६१ अर्ब खर्च भएको छ ।
यो तथ्याकं हेर्दा सरकारको आम्दानी भन्दा ७ अर्ब ५६ करोड बढि खर्च भएको देखिन्छ । इमेजखबरमा समाचार छ ।