एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द

काठमाडौं, असार २८ः नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ ।
नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ । जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ ।
नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ । यही असार १६ गते बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो ।
निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७६ वैशाख १७ गते र २०७६ भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा मुलुकभरबाट एक हजार २५ आवेदन प्राप्त भएका निगमले जनाएको छ ।- नेपाल टेलिभिजनमा समाचार छ ।