नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी चन्द्रप्रसाद ढकालले गरे प्यानलको घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि साउन चौथो साता निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी चन्द्रप्रसाद ढकालले आफ्नो प्यानलका उम्मेदवारको घोषणा गरेका छन् । मंगलवार एक कार्यक्रमका बीच ढकालले वस्तुगत, एशोशिएट र जिल्लानगर उपाध्यक्ष पदका लागि क्रमशः उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र गुणनिधि तिवारीको नाम घोषणा गरेका हुन् ।

निजीक्षेत्रका उद्योगी व्यवसायीको छाता संस्था उद्योग वाणिज्य महासंघले आउँदो साउन २६–२७ गते काठमाडौंमा आफ्नो ५४औं साधारणसभा र नयाँ नेतृत्व चयन गर्दै छ । गतवर्ष चैत २९ गते गर्ने भनिएको साधारणसभा र निर्वाचन कोरोना महामारी फैलिएसँगै स्थगित गरिएको थियो । सरकारले लकडाउन खुकुलो बनाएपछि महासंघले नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

नयाँ नेतृत्व चयनका लागि मिति घोषणा गरेसँगै महासंघको चुनावी सरगर्मी पुनः शुरू भएको छ । साधारणसभासँगै वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल समाप्त हुने भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्दै छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि पूर्व अध्यक्षहरूले सहमतिको प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । त्यसैले ढकाल र प्रधान प्यानल नै बनाई चुनावी मैदानमा आउने भएका छन् । प्रधानको प्यानलमा वस्तुगततर्फ अन्जन श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र जिल्लानगरतर्फ दिनेश श्रेष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन् । ढकाल पक्षले प्यानल घोषणा गरे पनि प्रधान पक्षले भने अझै पनि सरकारले चुनावका लागि अनुमति दिइनसकेकाले सरकारी अनुमतिपछि मात्र आधिकारिक रूपमा आफ्नो प्यानल घोषणा गर्ने बताएको छ । ‘हाम्रो तर्फबाट चुनावको तयारी भइरहेकै छ, तर घोषणा भने सरकारले चुनावका लागि अनुमति दिएपछि मात्र गर्ने योजना बनाएका छौं,’ प्रधानले बताए ।

निर्वाचन मिति नजिकिएसँगै दुवै प्यानलले उद्योगी/व्यापारीसँग भेटघाटको क्रमलाई तीव्रता दिएका छन् । प्रधान प्यानलले सम्पर्क कार्यालय नै खोलेर चुनावी प्रचारलाई अगाडि बढाएको छ । प्रधानको पक्षमा अहिले भावी अध्यक्ष गोल्छा तथा पूर्व अध्यक्ष पशुपति मुरारका खुलेर लागेको देखिन्छ भने ढकालको पक्षमा पूर्वअध्यक्ष चण्डीराज ढकाल लागिपरेका छन् । मंगलवार प्यानल घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी ढकालले भावी अध्यक्ष गोल्छा एउटा प्यानलको समर्थनमा देखिन थालेको भन्दै असन्तुष्टि व्यक्त प्रकट गरे । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था हटाउनुपर्ने मागसहित महासंघमा संघर्ष चर्किएका बेला आफू वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष बन्न पाउनुपर्ने पक्षमा उभिएको ढकालले स्मरण गराए ।

‘हामीले उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? अहिले त्यसलाई कसले मार्दै छ ? त्यो केका लागि ?’, ढकालले प्रश्न गरे, ‘भविष्यमा हामीले जे गरौंला गरौंला, तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नैपर्छ ।’अभियानले  उल्लेख गरेको छ।